
काठमाडौं । भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी अर्थात बुवाको मुख हर्ने पर्व आज मनाइँदैछ ।
वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछ ।
शास्त्रोक्त अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले घरमा शान्ति हुने विश्वास रही आएको छ । कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिदै आएको छ ।
आजकै दिन छोराछोरी परम्पराअनुसार आआफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।
उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औंसीलाई गोकर्णे औंसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ ।
आजकै दिनलाई पुण्य पर्व पनि मानिन्छ र आजको दिन दान गरे धेरै पुण्य मिल्ने विश्वास रही आएको छ ।






