
कविता
लक्ष्मी श्रेष्ठ ‘रेशमी’
कौसी
हरेक साँझ बिहान
कौसीमा बसेर
त्यही रुखलाई हेर्छु
कसैले कुनै बेला
रोपेको थियो सायद,
घामपानी हावाहुरी
सबै सहेर बढेको छ
कयौंपटक हाँगा भाचिदिएको देख्छु
लुछिएको , काटिएको
तोडिएको,मोडिएको हेर्छु
र पनि,
घामपानी हावाहुरी
सबै सहेर बढेको देख्छु
झाङिएको हेर्छु
शहरको बिचमा
पहिला हाँगा भाँच्ने र लुछ्नेहरु
अहिले त्यही रुखको फेदिमा
गफिरहेको देख्छु
चर्को घामको तापबाट बच्न
चौतारीमा सुस्ताएको हेर्छु
मनोरम हावा र अक्सिजन आफुमा सारिरहेको देख्छु
चराचुरुङ्गी चिर्बिराएको सुन्छु
आफ्नो बासस्थान गुँड बनाएको
अण्डा कोरल्दै,ओथारो बसेको
चल्ला ओरालेको देख्छु
हरेक मौसममा
अनेक प्रजातिका चराले
थकाइ मारेर
फेरि ,
यात्रामा निस्केको हेर्छु
बसन्तमा फूल फुलेको
भुनभुनको संगीत छरेर,
मौरी चरेको हेर्छु
हावामा सुगन्ध मिसिएको
थाहा पाउँछु
फल लागेको छ
फलमाथि मान्छेका अनेकौँ झटारो
वर्षिएको देख्छु ।
र ,सोचिरहन्छु
यो रुख नरोपिएको भए !
यसरी नहुर्केको भए !
नझाङ्गिएको भए !
फल नफलेकोभए !
मेरो कौसीबाट
हरेक साँझ र बिहान के देखिन्थ्यो होला??





