लघुकथा
टुटुल्को
छविरमण सिलवाल
बिहानै न्यास ध्यान गर्ने अर्जुन गौतम, पण्डितकै छोरो शालिकराम, पश्चिमका अजय रावल र अर्का नामी ज्योतिषका नाती उमाकान्त पाण्डे, चार जनाको जोडी खुव जम्छ, दिउँसो आ–आफ्नै कार्यमा व्यस्त हुन्छन् । बेलुका ६ बजे सबै यहि सेकुवा कर्नरमा भेटिन्छन् ।
उनीहरु बेलुका अबेरसम्म पनि त्यहीँ हुन्छन् । सेकुवासंगै धेरै बोतलहरु खाली हुन्छन् हरेक साँझ । उनीहरुले यहाँ यसरी पिउँन थालेको धेरै समय भएकोले सेकुवा साहुजी पनि उनीहरु प्रति आकर्षित छन् । उनीहरु पिए पछि कसैलाई केही भन्दैनन्, आफ्नै दुनियाँमा रमाइला कुराकानीसंगै कैयौँ बोतल रित्याउँछन् ।
आक्लझुक्कल हामी पनि सेकुवा कर्नरमा पुग्ने गर्छौं । हामी आफ्नै दुनियाँमा, उनीहरु उनीहरुकै दुनियाँमा मस्त छन् । त्यसैले हामीबीच साधारण हाई हलो बाहेक अरु केही छैन्।
एकदिन उनीहरु मध्ये अर्जुन गौतम निकै चुरीफुरीका साथ आफ्नो कहानी सुनाई रहेका र धेरै मान्छेहरु सुनिरहेको देखेर हामी पनि नजिकै गयौं । सबै गलल्ल हाँसिरहेको देखेर हामीले हाँस्नुको अर्थ सोध्यौं र, चाख मान्दै सुन्यौं ।
हिजो राती अबेरैसम्म सेकुवाघरमा उनीहरु जमेछन् । घर जान कठिन अवस्था भएपनि जसोतसो सबै आ-आफ्नो घरतर्फ लागेछन् । अर्जुन पनि आफ्नो घर कुमारीगालतर्फ लागेछन् ।
सिनामंगलबाट एयरपोर्ट हुँदै गौशालातर्फ जाँदा मोडमा उनको स्कुटर मुर्दा बोकेर घाटतर्फ जादैँ गरेको मलामीसंग ठोकिएछ । लास बोक्नेहरु लडेछन् अर्जुनको स्कुटर कता पुग्यो कुन्नी ! उनलाई चाहिँ लासले थिचेछ ।
उनलाई खासै केही भएनछ । जब उनी लडे,तब सेकुवाघरमा खाएको बोतलको पानीले केही छोडेछ । उठ्न खोज्दा बढेमानको लास डेग चल्दैन । सबै मलामीहरु आएर लास उठाएछन्, मलामीहरुले लास उठाएको उनले थाहा पाएका थिए, तैपनि उनी लास जस्तै लडेछन्, उनीहरुले हेरे,यो मान्छे त केही चलमल गर्दैन त ! मलामीहरु अर्को लास पर्यो कि भनेर डराएछन्, ।
अर्जुनको हेलमेट कता उछिट्टी सकेको थियो । एउटा मलामीले उनको टाउको तालुको विचमा ठूलो टुटुल्को देख्यो । यस्तो देखेपछि झन उनीहरु डराएछन् । गल्ति अर्जुनको भए पनि मानिस मर्यो भने उनीहरुलाई झण्झट, निकै डराएर मलामी मध्येकै एकजनाले ट्याक्सीमा राखेर केएमसी अस्पत्ताल पुर्याए । अस्पताल पुग्दा पनि उनी उही स्थितिमा थिए । खासै केही नभए पनि बेहोस जस्तै सुतेका थिए ।
अस्पतालमा चेक गरेपछि उनी नर्मल देखिए । त्यसपछि उनलाई लिएर अस्पताल पुगेका मलामीलाई राहत महशुस भयो । र उनले बिरामीको टाउकोमा भएको ठूलो टुटुल्कोेको बारेमा जिज्ञासा राखें । होसमा आइसकेका गौतमले यो त मेरो जन्मदै भएको टुटुल्को भनि बताउँदा अस्पतालको इमरजेन्सी हाँसोले गुन्जियो । नर्स र अरु मान्छेहरु हाँसी रहँदा गौतमलाई अस्पताल लैजाने मलामी त्यहाँबाट सुइकुच्चा ठोक्यो ।