कविता
प्रश्न
शुषमा चित्रकार
हिजोझैँ लागेथ्यो,
त्यो साँझ
जेब्राक्रसिङमाथि
एकअर्कालाई धकेल्दै
बगेको, मान्छेका समुद्रभित्र
हतारहतार बाटो काट्न लाग्दा
तिमीले बोलाउँदै मेरो नाम
रोकेको मलाई ।
व्यस्त सडकछेऊ
आउने जाने,अनगिन्ति
आँखाहरुसँग लापरवाह
छिट्याउन थालेका थोपाहरुबाट
जोगिँदै जोगाउँदै
रँगिन छाता
ओढाएथ्यौ ममाथि ।
सुस्तरी एउटा साउती
शब्दहरुमा बाँधेर
तिमीले मेरो छेऊ
राखेका थियौ एउटा प्रश्न
खोजेका थियौ
मस“ग जवाफ ।
सडकछेउ झरीमा
निर्निमेष तिम्रा दृष्टिबाट
भिज्न थालेका संकोच
शब्दमा बाँध्न सकिनँ
स्थीर बनेको समय
फर्कियो निरुत्तर ।
लामो अन्तरालपछि
आज फेरि देखेँ तिमीलाई
साँझ, त्यही सडकमा
हतारहतार बाटो काट्दै गरेका
यो पटक मैले बोलाएँ
रोकेँ तिमीलाई ।
खुल्दुलिसँग थुप्रै कौतूहल
अझै जिवित छन् संशयभित्र
तिमीलाई दिन बाँकी प्रश्नको उत्तर
मभित्र जिउँदै छ
बरु तिमीसित
मलाई सोधिएको
प्रश्न पो बाँकी छ कि छैन ?