
काठमाडौं ।विगत दश वर्षदेखिको प्रतीक्षारत ‘नेपाल -भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आजदेखि काठमाडौँमा प्रारम्भ भएको छ ।
शुक्रवार त्रिमुर्ति निकेतनमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले नेपाल तथा भारतका २७ जना प्राज्ञलाई सम्मेलनको प्रतीक चिन्ह र सम्मेलनबारेका कृतिहरू प्रदान गरेर तीनदिने सम्मेलनको शुभारम्भ गरे।
२०३१ सालमा प्रा.डा.वासुदेव त्रिपाठीले नेपाली भाषासाहित्यमा सर्वप्रथम विद्यावारिधि गरेका थिए ।उनकै सवालहरूको परिपूर्तिका निम्ति नइले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को आयोजना गर्नुपरेको कुलपति इन्दिरा प्रसाईले बताइन ।
तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा उच्च शिक्षामा नेपाली भाषासाहित्यको अध्यापन तथा अनुसन्धान गरिने भारतका तेह्रवटा विश्वविद्यालय र नेपालका छवटा विश्वविद्यालयका दस्तावेज प्रस्तुत गरिने छन् ।

सम्मेलनको पहिलो दिन सहभागी प्राज्ञहरूले आआफ्ना विश्वविद्यालयबारे चर्चा गरे।
नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित त्रिदिवसीय सम्मेलनको प्रथम दिनको समारोहमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, प्रा.डा.चूडामणि बन्धु, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.दिवाकर प्रधान, प्रा.डा.कविता लामा, सल्लाहकार प्रा.केशव सुवेदी, सम्मेलनका संयोजक प्रा.डा.महादेव अवस्थी, सदस्यसचिव नरेन्द्रराज प्रसाई लगायत नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने पच्चिस जना प्रतिनिधि प्राज्ञहरूले आआफ्नो मन्तव्य राखेको नइ एकेडेमीका सदस्य सचिव नरेन्द्रराज प्रसाईले इखवर नेटलाई जानकारी दिए ।


