
कृति :आदिम आवाज
विधा :कविता
कवि :दिनेश अधिकारी
दिनेश अधिकारी चर्चित कवि तथा गीतकार हुन् । आफू अभिव्यक्त हुने शैली युगकै भाषामा व्यक्त गर्न सक्ने ढंगले पोखिन सक्छन् । उनी जीवनको यथार्थतालाई कविता मार्फत पर्गेल्न माहिर छन् । आदिम आवाजमा ३१ थान विं.सं.२०३७ देखि २०४२ सालसम्मको अबधिमा सृजना गरिएका कविताहरु समावेश गरिएका छन् ।
मान्छेका कविता लेखेका छन् यहाँ । कवि अधिकारी आँखाले जे देख्छन् त्यसैलाई टपक्क टिपेर कविताको रुप दिन खप्सिस छन् । मानव जीवनका पीडा अभिव्यक्त गर्ने उनको प्रयास सार्थक छ । जीवनप्रति आशावादी हुन पनि कविता मार्फत सिकाउँछन् ।
मान्छे आफ्नै कारण क्षयीकरण तिर लागेको हुँदा जिन्दगीलाई जतन गर्न सुझाउँछन् । समयको लयमा लय मिलाएर हिडेमा जीवन सार्थक हुने उनको धारणा छ । शहरले खप्लक्कै निलेको जीवनको चित्रण कवितामा गर्छन् । प्रवासीका पीडा ओकल्छन् । उनमा कल्पनाशीलता नि वेजोड बनेर देखिएको छ । त्यसैले उनी सुन्दर कल्पनामा कविता कोर्छन् । उनी प्रकृतिपूजक हुन् । प्रकृतिप्रेमी हुन् यसैले बनजंगल,खोलानाला,असारको सुन्दर मास लगायतका विषयमा कविता लेख्छन् । स्वदेशप्रेम उनको मनमा बास बसेको छ त यसैतिर लक्षित कविताहरु पनि छन् ।
आदिम आवाज नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक २०४५ सालमा प्रकाशित गरेको हो ।
कृति : इसपका नीतिकथा
अनुवादक : विनय कसुजू
विधा : नीतिकथा
आजभन्दा झण्डै छब्बिस सय वर्ष अगाडि जन्मेका इसप युनानी थिए । उनका बारेमा धेरै किंवदन्तीहरु पनि छन् । कोइ उनलाई विद्धान मान्छन्,कोही दार्शनिक । उनी पशुलाई पात्र बनाएर कथा लेख्न माहिर थिए ।
उनका नीतिकथा विश्वका धेरै देशमा प्रचलित छन् । कतिपय स्थानीय नीतिकथाहरुसँग मेल पनि खान्छन् । तर उनका नीतिकथा जीवन र समाजको निम्ति कामयावी पनि छन् ।यो इसपका नीतिकथा विनय कसजूले अँगे्रजीभाषाबाट अनुवाद गरी संकलन गरेका हुन् भने भाषा सम्पादन पनि कसजूकै हो । एक सय त्रिचालीस छोटा नीतिकथाहरु यसमा समावेश गरिएका छन् ।
इसपका नीतिकथालाई विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले पहिलो पटक २०६४ सालमा प्रकाशनमा ल्याएको हो ।
कृति : सहह्रदयी स्वरहरु
विधा : संयुक्त कवितासङ्ग्रह
कविहरु : अनन्तप्रसाद वाग्ले,छविरमण सिलवाल,रमेशप्रसाद सागर
कवितामा अनुभूतिको महत्व धेरै हुन्छ । जीवनका भोगाई र अनुभूतिलाई पर्गेलेर कविता कोर्दा सुन्दर कविता बन्छ । अझ त्यसमा निजत्व थपिदिदाँ कविता गजबको हुन्छ । यसमा यस्तै कविता छन् कवि त्रयका ।
मानवजीवनप्रतिको संवेदना, प्रगतिशिल चेत, समाजमुखी क्रान्तिचेतका विषयले उनीहरुका कविता भरिएका छन् । कविहरु आफ्ना कविताहरुमार्फत मान्छेमा आशावादीताको भाव जगाउन सफल देखिएका छन् । आममान्छेका लोलीमा लोली मिलाइएका कविताले जीवनको अर्थ बोध गराउँछन् ।उतिवेलाको नेपाली राजनीति,सामाजिक र आर्थिक परिवेशको चित्रण पनि कविताका विषय बनेका छन् । मानवीय दैनिकी,तिनका जीवनका आरोह अबरोहहरुको सजीव चित्रण कविताका अन्य विषयवस्तु हुन् ।भोगिरहेको समाजमा कविमन रुमुल्लिएको छनक कविताहरुले दिन्छन् । देशप्रेम द्रवित भएर कवितामा पोखिएको छ । कविहरुको कवितामा अभिव्यक्तिको प्रचुर सामाथ्र्य देख्न सकिन्छ् । छोटा कवितामा सुक्ष्म बिम्बको प्रयुक्ति कसलाई मन नपर्ला ।
शैलीशिल्प,विषयगत विविधता,बिम्बहरुको सफल प्रयोग उनीहरुका कविताका त्राण हुन् । जटिल,क्लिष्ट र दुर्बाेध्यताको शिकारबाट टाढा रहेका कविताहरु सरल छन् । पठनीय छन् । प्रभावशाली छन् ।
सहह्रदयी स्वरहरु सर्जक स्वयंले २०५९ सालमा प्रकाशनमा ल्याएका हुन् ।






