
काठमाडौं । अमेरिकामा एक विमान दमकलसँग ठोक्किएको छ ।
अमेरिकाको न्यूयोर्कको ला गार्डिया विमानस्थलमा आइतबार अवतरणका क्रममा एयर क्यानडाको उक्त विमान दमकलसँग ठोक्किएको हो ।
उक्त दुर्घटनामा विमानका पाइलट र को–पाइलटको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
राति करिब ११ः४० बजे ज्याज एभिएसनद्वारा सञ्चालित एयर क्यानडाको एउटा विमानले पोर्ट अथोरिटीको ‘विमान उद्धार तथा अग्नि नियन्त्रक’ सवारीसाधनलाई ठक्कर दिएको न्युयोर्क र न्यु जर्सीको पोर्ट अथोरिटीले जनाएका छन् । उक्त दमकल अर्को एउटा छुट्टै घटनाको उद्धारका लागि जाँदै थियो ।
दुर्घटना भएको एयर क्यानडाको उडान नम्बर ८६४६ मा ७२ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेकोमा एक पाइलट र एक को–पाइलटको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा ४१ जना यात्रु र चालक दलका सदस्यलाई अस्पताल लगिएको थियो, जसमध्ये ३२ जना डिस्चार्ज भइसकेका छन् । दमकलमा रहेका दुईजना पनि घाइते भएका छन् ।
