काठमाडौँ ।प्रसिद्ध आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान, २०८२’ वरिष्ठ गीतकार किरण खरेललाई समर्पण गरिएको छ ।
शनिबार राजधानीमा नेपाल स्रष्टा समाजद्वारा आयोजित विशेष कार्यक्रममा वरिष्ठ समालोचक प्रा. डा. दयाराम श्रेष्ठले गीतकार खरेललाई सम्मानपत्र समर्पण गरे । उनलाई सम्मानसाथ नगद राशि एक लाख १११ रुपैयाँ परिवारका सदस्य लगायतले समर्पण गरे ।

प्रा. डा. श्रेष्ठले गीतकार खरेललाई बधाई दिँदै आख्यानकार प्रधानको कथाकारिताको चर्चा गरे । उनले प्रधानका कथाहरूको पुनर्मूल्यांकन गरिनुपर्नेमा जोड दिंदै भने, “मेरो विचारमा अब नयाँ दृष्टिकोणका साथ उनका कथाहरूको समीक्षा र मूल्यांकन हुनुपर्छ ।”
उनले आफूले पनि प्रधानको एउटा कथाकृतिको ३५ पृष्ठ लामो भूमिका लेखेको स्मरण गर्दै भने, “त्यो भूमिका मैले केही दिनअघि पढेँ । पढेपछि लाग्यो, मैले परशु प्रधानको कथाहरूको मूल्यांकन गर्न सकेको रहेनछु ।”
उक्त भूमिका लेख्दा आफू ४० वर्षको रहेको उनले सुनाए । अहिले ८० वर्ष उमेर पार गरिसक्दा त्यसलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको उनले बताए । उनले प्रधानका दुई कथाको चर्चा गरे । उनले भने, “म परशु प्रधानका कथा र त्यसको सौन्दर्यशास्त्र विषयमा केही लेख्ने प्रयास गर्नेछु ।”
गीतकार रमण घिमिरेले सम्मानित व्यक्तित्वको बारेमा चर्चा गर्दै, “गीत सिर्जना किरण खरेलको एक मात्र ‘लत’ भएको बताए । उच्च शिक्षा हासिल गरेर पनि अरू पेसामा नगएर उनी गीत सिर्जनामा नै निरन्तर लागिरहेको घिमिरेले उल्लेख गरे । घिमिरेले एक कुशल उद्घोषक समेत रहेका खरेल नेपाली गीत सिर्जनाका महाविद्यालय नै भएको टिप्पणी गरे । उनले भने, “गीत रचना भनेको फलामको चिउरा चपाउनुसरह हो । उहाँले गीतमा प्रेम, शृंगार मात्र होइन, नयाँ प्रयोग पनि गर्नुभएको छ । उहाँका गीतमा विद्रोह पनि भेटिन्छ ।”
उनले नेपाली गीतमा नौनीजस्ता रसिला गीतले नेपाली गीतभण्डार गर्ने व्यक्तिको रुपमा खरेलको चर्चा गरे ।
रेडियो नेपालको प्रतियोगितामा खरेलले चारपटक उत्कृष्ट गीतकारको पुरस्कार प्राप्त गरिसकेका छन् । खरेलका आधुनिक, चलचित्रका गीतहरू चर्चित छन् । त्यसको चर्चा गर्दै घिमिरेले खरेल गीतका अपरिहार्य साधक भएको बताए ।
उनले प्रधानसँग व्यतित गरेका केही अविस्मरणीय पलहरु जानकारी दिंदै पुरस्कृत सर्जकलाई बधाई दिए । उनले किरण खरेल र परशु प्रधानको सम्बन्धको चर्चा गर्दै भने, “किरण दाइले नै दाजु (परशु प्रधान)का कथाहरूलाई गीतिकथाका रूपमा रेडियो नेपालमा प्रसारण गर्न सहयोग गर्नुभएको थियो ।”
प्रधानको कथाकारिताको उन्नयनमा केदारमान व्यथित, दौलतविक्रम विष्ट र पोषण पाण्डेको प्रेरणा रहेको साकारले बताए ।
गीतकार दिनेश अधिकारीले अग्रज गीतकार खरेलको चर्चा गरे । खरेललाई हिउँदको खोलाको संज्ञा दिँदै शान्त रुपमा निरन्तर गीत सिर्जनाकर्ममा खरेल लागिपरेको बताए । आज नेपाली गीतलाई यो उचाइमा पुर्याउने श्रेय खरेलकै रहेको उनले बताए । अधिकारीले आफ्नो र आख्यानकार प्रधानसँगको सम्बन्धबारे पनि बोले ।
बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले आफ्ना पिताजी (परशु प्रधान)को स्मृतिमा आफूहरू चार दिदीभाइ मिलेर यो सम्मानको स्थापना गरेको बताए । उनले भने, “हामीलाई यो अवस्थामा ल्याइपुर्याउनुमा पिताजीको साहित्य सिर्जनाको नै योगदान छ । पिताजीको जीवन साहित्य सिर्जनाले नै अगाडि बढेको हो र त्योसँगै हाम्रो जीवन पनि । साहित्यकार भनेको समाजका रत्न हुन् भन्ने हामीले पिताजीबाटै बुझेका हौँ ।”

उनले साहित्यकार अशेष मल्लको संयोजनमा गठित सम्मान सिफारिस समितिले अग्रज गीतकार खरेलजस्ता उपयुक्त पात्र चयन गरेको बताए । उनले गीतकार खरेलले पनि सम्मान स्वीकार गरेकोमा विशेष आभार व्यक्त गरे ।
कार्यक्रममा साहित्यकार पवन आलोकले नेपाल स्रष्टा समाजको स्थापनामा आख्यानकार परशु प्रधानको योगदानको चर्चा गरे । परशु प्रधान आफ्ना गुरु पनि भएको उनले उल्लेख गरे ।उनले कल्पना प्रधानले समेत नेपाली बालसाहित्यमा महत्वपूर्ण योगदान गरेको बताए ।
स्रष्टा समाजका संरक्षक पनि रहेका आलोकले अग्रज गीतकार खरेललाई सम्मान गर्न पाउनु समाजका निम्ति गौरवको विषय भएको बताए ।

समाजका अध्यक्ष एवं साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले धेरै किताब प्रकाशन गरेरभन्दा पनि पाठकलाई छुने उत्कृष्ट साहित्य लेखेर स्रष्टा लामो समय बाँच्ने चर्चा गरे । उनले भने, “राम्रो लेख्नेहरू पनि बाँचेका छन् त ? त्यो पनि होइन । जसले आफ्नो उत्तराधिकारी बनाउन सक्यो, त्यस्ता स्रष्टा सशरीर नभए पनि युगौँयुग बाँचेका छन् । परशु दाइले धेरै काम गर्नुभएको छ । उहाँ अनुज पुस्तालाई प्रोत्साहित गर्नुहुन्थ्यो । यो समाज पनि परशु दाइकै परिकल्पनामा स्थापना भएको हो ।”
उनले ७०० भन्दा बढी कालजयी आधुनिक गीत स्रोतालाई सुम्पिएका गीतकार खरेल नेपाली संगीतका उज्ज्वल नक्षत्र भएको बताए ।
समाजका सदस्य डा. शान्तिमाया गिरीले आख्यानकार प्रधानको परिवारले सम्मान स्थापना गरेर व्यवस्थापनको जिम्मा आफूहरूलाई सुम्पिएकामा आभार व्यक्त गरिन् ।
कार्यक्रमको सहजीकरण नेपाल स्रष्टा समाजका सदस्य प्रदीप सापकोटाले गरेका थिए ।
नेपाली संगीतलाई आधुनिक धारमा डोर्याउने खरेल विगत छ दशकभन्दा बढी समयदेखि गीत लेखनीमा सक्रिय छन् । उनले नेपाली चलचित्र माइतीघरको लागि लेखेको ‘बसन्त नै बस्न खोज्छ यहाँ …’ धेरै चर्चित र सदावहार गीत बनेको छ । त्यसयता करिव सात सय जति गीतहरु खरेलले लेखेका छन् । उनी कुशल कार्यक्रम सञ्चालक तथा रेडियो प्रस्तोता समेत हुन् ।
‘के हो तिम्रो नाउँ?’,’मेरी परु’,’मेरी प्रियतमा’, ‘ए दुरका सितरा’ लगायतका गीतिसङ्ग्रह प्रकाशित भैसकेका छन् । यसका साथै थुप्रै नेपाली चलचित्रका लागि उनले गीत दिएका छन् । यसका साथै थुप्रै म्यूजिक भिडियो समेत स्वराङ्कन भएका छन् ।
नेपाली गीति परम्परालाई आधुनिक धारमा ल्याउने श्रेय पनि खरेललाई छ ।
यस अघि यो सम्मानबाट अग्रज कथाकार धुर्व सापकोटा र गणेश रसिक सम्मानित भइसकेका छन्।