
काठमाडौं। साहित्यकार बी डी त्यागीको स्मृति दिवसको अवसरमा बी डी त्यागी स्मृति केन्द्रले हरेक वर्ष अर्पण गर्दै आएको बी डी त्यागी सम्मान पुरस्कार २०८३ को लागि प्रतिभा चयन गरिएको छ ।
फागुन ३० गते शनिबार केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको बैठकले उपन्यासकार शङ्कर भारती संयोजक, साहित्यकारहरु त्रिलोचन आचार्य र दुर्गा अधिकारी भमरकोटे सदस्य रहेको प्रतिभा चयन समितिले सिफारिस गरेको नामलाई अनुमोदन गरेको थियो ।
जस अनुसार साहित्यकार नभएपनि साहित्यको विकासमा लागिपरेका व्यक्ति वा संस्थालाई अर्पण गरिने ‘नेपथ्य सम्मान’ यस वर्ष साहित्यिक क्षेत्रमा अग्रणी भूमिका खेलेको गोकर्णेश्वर नगर पालिकाका प्रमुख दीपक रिसाललाई अर्पण गरिने भएको छ ।
त्यस्तै ‘बीडी त्यागी योगदान सम्मान ‘ साहित्यकार तथा फित्कौलीका प्रधान सम्पादक नरनाथ लुइँटेललाई अर्पण गरिने भएको छ ।
‘बीडी त्यागी स्मृति सम्मान’ साहित्यकार तथा पत्रकार महेन्द्र चालिसेलाई , एक सय एक रुपैयाँको सिक्का रहेको ‘बी डी त्यागी स्मृति पुरस्कार’ हास्यव्यङ्यकार देवीप्रसाद चापागाईंलाई प्रदान गरिने भएको छ ।
यसैगरी ‘बी डी त्यागी प्रतिभा सम्मान’ साहित्यकार तथा पत्रकार प्रदीप सापकोटालाई अर्पण गरिने भएको छ ।
स्रष्टालाई सफल बनाउन वहाँको जीवन साथीको महत्वपुर्ण भूमिका रहने तर सधैं ओझेलमा पर्ने हुँदा यस वर्षदेखि केन्द्रले ‘गौरीत्यागी स्रष्टा जीवन साथी सम्मान’ प्रारम्भ गरेको छ । यो सम्मान स्रष्टा श्रीओम श्रेष्ठ ‘रोदन’को जीवन साथी ललिता श्रेष्ठलाई अर्पण गरिने भएको छ ।
उक्त सबै सम्मानहरु आगामी बैशाख १९ गते बीडी त्यागीको तेइसौं स्मृति दिवसको अवसरमा एक कार्यक्रम बीच अर्पण गरिने बी डी त्यागी स्मृति केन्द्रका महासचिव साहित्यिक पत्रकार निबन्ध आचार्यले जानकारी दिए।
जीवनभर लेखन कार्यमा लागे पनि प्रकाश र चर्चामा आउन नचाहने साहित्यकार बी डी त्यागीको २०६० साल बैशाख १९ गते निधन भएको थियो ।


