
काठमाडौं।नेकपा एमालेका नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेलाई सिध्याउन विभिन्न षड्यन्त्रहरु भइरहेको बताएका छन् ।
‘बाहिरी षड्यन्त्र चिर्नको लागि भित्री रूपमा मजबूत हुनुपर्छ । भित्री रूपमा कमजोर भइयो भने बाह्य षड्यन्त्र हावी हुन्छ’, पोखरेलले भने, ‘हामी आन्तरिक रूपमा सुदृढ हुन चाहन्छौँ ।’
सोही कार्यक्रममा पोखरेलले चुनावी घोषणापत्र छिटै सार्वजनिक हुने पनि बताएका छन् ।
सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएको र त्यसको मुद्दा घोषणापत्रमा समावेश हुने उनले सुनाए । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला गरेका विकासको काम, सुशासनका कुरा घोषणापत्रमा समावेश हुने उनको भनाइ छ ।
उनले घोषणापत्रमा कतिबेला के काम गर्ने भन्ने किटान गरिने बताए । “यसपटकको घोषणामा हामी पृथक ढंगले प्रस्तुत भएको पाउनुहुनेछ । हामी निश्चित मुद्दामा टाइम बाउन्ड वर्किङ क्यालेन्डरका साथ प्रस्तुत हुन्छौँ,” उनले भने, “हामी कुन काम कतिबेला कसरी गर्छौं भन्नेबारेमा किटान गरेर आउनेछौँ ।”
उनले जेनजीले उठाएका माग अनुचित नभएको बताए । उनले बाहिरी षड्यन्त्र चिर्न पार्टी भित्री रूपमा मजबुत हुनुपर्ने धारणा राखे ।





