
काठमाडौं।नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएका छन् ।
भदौ २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुनेगरी बोलाइएको हो ।
महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै महामन्त्रीद्वय थापा र शर्माले गरेको आह्वानमा भनिएको छ, “विधानबमोजिम निवेदन दिइसकेपछि विशेष महाधिवेशन बोलाउन नसक्ने अवस्थाको परिकल्पना नेपाली कांग्रेसको विधानले गरेको छैन । विधान बमोजिम कारणसहित माग गरेको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार विधानले कसैलाई प्रदान गरेको छैन ।”
त्यस्तो अवस्थामा विधानसम्मत माग बेवारिसे हुन नसक्ने जिकिर दुई महामन्त्रीको छ ।
“महाधिवेशन आफैँ क्रियाशील हुन्छ र तोकिएको समयभित्र विशेष महाधिवेशन हुन्छ भन्ने कुरा हामीले पार्टी बैठकमा पनि पटक–पटक राखेका छौँ । बहुमत महाधिवेशन प्रतिनिधिद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति हाम्रो ऐक्यवद्धता रहेको छ,” थापा र शर्माले भनेका छन् ।
विधानबमोजिम विशेष महाधिवेशन नबोलाउनु विधानको पालना नगर्नु, जिम्मेवारी बमोजिम काम नगर्नु विधान र राजनीतिक दलसम्बन्धी कानुनको समेत विपरीत भएको उल्लेख गरिएको छ।
महामन्त्री द्धयले पुसको २७ गते काठमाडौंको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी हुन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई आब्हान समेत गरेका छन् ।
