विकट भौगोलिक संरचनाका कारण नेपालजस्तो मुलुकमा सडकलाई नै विकासको मुख्य पूर्वाधार मानिन्छ । गाउँगाउँसम्म सडक सञ्जाल जोडिएपछि गाउँको आर्थिक तथा सामाजिक विकासको ढोका खुल्छ भन्ने मान्यताको विकास भएको छ । अनि गाउँ–गाउँसम्म सडक सञ्जाल पु¥याउने प्रयास पनि जोडतोडका साथ भइरहेको छ । राष्ट्रियस्तरका नेतादेखि स्थानीय जनप्रतिनिधिहरूको पनि जनतालाई आफ्नो राजनीतिक पार्टी र आफूप्रति आकर्षित गर्ने मुख्य आधार बनेको छ सडक । हरेक गोष्ठी र सभा–समारोहमा बोल्ने र छलफलको मुख्य विषय नै सडक हुने गरेको छ । चुनावी एजेन्डामा पनि सडकले नै प्राथमिकता पाउने गरेको छ । गाउँगाउँसम्म सडक पु¥याउने एजेन्डा बोकेर चुनावमा उत्रिएका नेता अथवा जनप्रतिनिधिलाई जनताले आफ्नो अभिमतले विजयी बनाउने गरेका छन् । त्यही अभिमतको कदरस्वरूप नेता र स्थानीय जनप्रतिनिधिहरू पनि गाउँगाउँमा सडक सञ्जाल पु¥याउन तत्पर देखिन्छन् ।
गाउँलाई सडक सञ्जालले जोड्ने काममा सबैभन्दा अगाडि आउने साधनको नाम हो डोजर । गाउँमा कतै डोजर पुगेको छ भने त्यहाँ सडक बन्दैछ भनेर बुझ्दा हुने भएको छ । किनभने गाउँमा डोजर पुग्नु भनेको त्यहाँ सडक निर्माण हुनु हो र सडक निर्माण हुनु भनेको गाउँमा विकास पुग्नु हो भन्ने मान्यता स्थापित भएको छ । साँच्चै भन्ने हो भने अहिले डोजरलाई विकासको विम्बकै रूपमा हेर्न थालिएको छ । त्यसैले अरू सबै कुरालाई थाँती राखेर पनि स्थानीय जनप्रतिनिधिहरूले गाउँमा डोजर पु¥याउने कामलाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन् र गाउँमा डोजर पुर्याउन सक्नुलाई आफ्नो सफलताको कसी पनि मान्ने गरेका छन् । जनताले पनि गाउँमा एउटा डोजर पनि ल्याउन नसक्ने नेता वा जनप्रतिनिधिलाई अयोग्य वा असक्षम भन्न थालेका छन् । जनताको मन र मत जित्नका लागि अब गाउँमा डोजर पु¥याउनै पर्ने परिस्थिति सिर्जना भएको छ । जनताको चाहना र भावना बुझेका नेता र जनप्रतिनिधिहरू गाउँगाउँमा डोजर पुर्याउने प्रतिस्पर्धामा छन् ।
हिजोका दिनमा गाउँ विकासको पर्खाइमा थियो । गाउँको विकासका लागि मुख्य आधार मानिएको सडक सञ्जाल निर्माणका लागि गाउँमा डोजर पुर्याउनुपर्ने आवश्यकता नै थियो । डोजरकै माध्यमबाट गाउँगाउँमा सडक बनेको सत्य हो । सडक बनेपछि मात्रै गाउँको विकासको बाटो खुलेको हो । सडक सँगसँगै गाउँमा अरू धेरैथोक पुगेको हो । शिक्षा, सञ्चार, स्वास्थ्य, बजार आदिको सेवा र सुविधा सडककै कारण सहज भएको हो ।
समय केही फेरिएको छ । जनताका चाहना र भावना पनि फेरिएका छन् । हिजोका दिनमा गाउँमा सडक बने पुग्छ भन्ने जनताहरू अहिले घरघरसम्म सडक बन्नुपर्छ भन्न थालेका छन् । एउटा घरलाई सडकले छुँदा र अर्को घरलाई नछुँदा जनता–जनताबीच नै असन्तुष्टि र असमझदारी बढ्न थालेको छ । यसो हुँदा हिजोका दिनमा गाउँगाउँमा सडक पुर्याउने नारा अहिले घरघरमा सडक पुर्याउने नारा बनेको छ । स्थानीय जनप्रतिनिधिहरू पनि जनताको यही चाहना र भावनाअनुरूप गाउँगाउँबाट अब घरघरमा सडक पुर्याउन गाउँका खेत, बारी, कुनाकन्दरा जतासुकै डोजर कुदाउन बाध्य बनेका छन् । त्यसैले हिजोका दिनमा आवश्यकताको रूपमा रहेको डोजरे विकास अहिले बाध्यता नै बनेको छ ।
गाउँगाउँमा डोजर पुगेपछि विकासमात्रै भएको छैन, विनाश पनि सुरु भएको छ । कुनै अध्ययनै नगरी अथवा वातावरणीय प्रभाव सम्बन्धमा कुनै मूल्यांकनै नगरी गाउँका खेत, बारी र पहाडका कुनाकन्दरामा डोजर चलाउँदा सडक त बनेको छ, सँगसँगै स्थानीय वातावरणमा दूरगामी नकारात्मक असर पनि परेको छ । कुनै व्यवस्थित र दीर्घकालीन योजना र वातावरणीय प्रभाव मूल्यांकन नै नगरी डोजर चलाएर जथाभावी खनिएका सडकहरूले गाउँलाई सहरसम्मको सडक सञ्जालमा त जोडिदिएको छ, वातावरणीय समस्या पनि निम्त्याएको छ र गाउँमा विकाससँगसँगै विनाश पनि गरेको छ । विकाससँगसँगै विनाश पनि आउँदा विकाससँग रमाएका जनता विनाशसँग त्रसित भएर बाँच्न बाध्य भएका छन् । विकासको नाउँमा वातावरणीय तथा सामाजिक र सास्कृतिक विनाश गरेर मानिसलाई नै विस्थापित हुन बाध्य पारेपछि त्यस्तो विकास किन, केका लागि र कसका लागि भन्ने प्रश्न उठ्न थालेका छन् ।
जनताको विकासप्रतिको तीब्र आकांक्षालाई भोटसँग साट्न पल्केका राजनीतिक पार्टीका नेता, कार्यकर्ता र स्थानीय जनप्रतिनिधिहरूले छिट्टै गाउँमा विकास पुगेको भ्रम छर्नका लागि गाउँगाउँसम्म डोजर पु¥याउने प्रतिस्पर्धा गरिरहेका छन् । गाउँमा सडक खन्दै पुगेको डोजरलाई देखेर विकासको कल्पना गर्ने जनताले त्यही हतारको विकासले निम्त्याउने विनाशको कल्पना भने गरेका छैनन । जथाभावी सडक खन्दा त्यहाँको गाउँमा पानीको मुहान सुक्ने, बर्खाको भेलसँगै मलिलो माटो बग्ने र पहिरो खस्ने समस्या जताततै देखिएका छन् । बिना योजना अव्यवस्थितरूपमा सडक खन्दाको परिणामको रूपमा पहिरोको समस्या देखिएको छ । बेला–बेलामा आइरहने भुकम्पले भित्रभित्रै कमजोर पारेको जमिनमा डोजर चलाउँदा त्यो जमिन झनै कमजोर भएर बर्खाको बेला पहिरो खस्ने समस्याले स्थानीय वासिन्दालाई त्रसित र भयभीत पार्ने गरेको छ ।
गाउँका जनतामा गाउँको विकास छिटो होस् भन्ने आकांक्षा छ र आतुरता पनि छ । जनताको आकांक्षा छिटो पूरा गर्न जनप्रतिनिधिहरू पनि आतुर छन् । परिणामतः तोक र आदेशका भरमा डोजर गाउँगाउँ पु¥याइएका छन् । विकासका आकांक्षी जनतालाई तत्काल खुसी पार्ने प्रयास भएका छन् । आवश्यकताको पहिचान र वातावरणीय प्रभाव मूल्यांकन नै नगरी चाहिने–नचाहिने सबै ठाउँमा सडक खन्दा त्यो सडकले दिगो अर्थ–सामाजिक लाभ दिन नसक्ने, बरु प्राकृतिक प्रकोपको समस्यालाई थप चर्काएको छ । यो वर्ष औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको अनुमान छ । बढी वर्षा हुँदा पहिरोको जोखिम पनि बढी नै हुन्छ । यस्तै जोखिमहरुले गर्दा मानवीय र भौतिक क्षति पनि बढ्ने गर्दछ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनबाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने पूर्वानुमान गरेको छ । साथै मनसुनकै क्रममा विपद्बाट करिब १८ लाख मानिस र ४ लाख १२ हजार घरधुरी कुनै न कुनै रूपमा प्रभावित हुनसक्ने अनुमान पनि गरिएको छ ।
नेपाल प्रहरीको तथ्यांकअनुसार मनसुन सुरु भए यता अर्थात् जेठ २८ गतेदेखि साउन २३ गते बुधबार दिउँसोसम्ममा बाढीपहिरो लगायतका विपदमा परी देशभरमा १ सय ६७ जनाको मृत्यु भएको छ । यसैगरी १ सय ९९ जना घाइते भएका छन् भने ५० जना बेपत्ता भएका छन् ।
यसरी मनसुनको समयमा अत्यधिक वर्षाको कारण बाढी र पहिरोको समस्या बढ्ने गरेकामा जथाभावी गरिएको डोजरे विकासले त्यस्तो समस्यालाई थप चर्काएको छ । बिना योजना र बिना अध्ययन जथाभावी सडक खन्दाको परिणामको रूपमा गाउँगाउँमा पहिरोको समस्या निकै बढेको छ । हिजो गाउँमा सडक आयो र सडकसँगै सबैथोक आयो भनेर रमाएका जनता अहिले बर्खा लाग्यो कि पहिरोमा पुरिएर मरिने हो कि भन्ने चिन्ताले ग्रस्त छन् । बाटोमुनि बस्नेहरू बाटो माथिबाट पहिरो खस्छ कि भनेर भयभीत छन् । अनि गाउँबाट सहरमा आइ बस्नेहरूलाई चाहिँ गायक दीप श्रेष्ठको गीतमा झैँ ‘हर रात सपनीमा ऐँठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि’ भनेर । गाउँमा बस्ने र गाउँबाट सहरमा आई बस्नेलाई पनि पहिरोमा सारा सपनाहरू पुरिन्छन् कि भन्ने चिन्ता छ र भय छ । त्यसैले अहिले प्रतिस्पर्धाकै रूपमा देखिएको डोजरे विकासलाई व्यवस्थित गर्नु अति आवश्यक भइसकेको छ ।