
काठमाडौं। भदौ २४ गते जेजनी आन्दोलनको आवरणमा सर्वोच्च अदालतसहितका अदालत र बार एशोशियसनका कार्यालय जल्दा खुशी मनाउने अधिवक्ता सुलभ खरेल त्यहीँ विषयले इजलासमा असिनपसिन भएका छन्।
बुधबार एमालेले संसद पुनःस्थापनाको माग गर्दै दायर गरेको रिटमा बहस गर्न संवैधानिक इजलासमा पुगेका खरेल न्यायाधीशहरुको पेचिला प्रश्नले आच्छुआच्छु भएका हुन्।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको संवैधानिक इजलासमा निवेदक एमालेका विघटित संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाको तर्फबाट पहिलो बहस वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले गरेका थिए।
‘तपाईं इजलासमा बहस गर्न आउनभयो। तर तपाईंलाई याद छ कि छैन, भदौ २४ गते सर्वोच्च अदालतमा आगलागीपछि तपाईंले सामाजिक सञ्जालमा के लेख्नु भएको थियोर? ’
खरेलको उपस्थितिले आक्रोशित भएका प्रधानन्यायाधीश राउत त्यतिमा मात्रै रोकिएनन्। उनले अगाडि भने- ‘एउटा कानुन व्यवसायीले मर्यादा राख्नुपर्छ कि पर्दैन ? तपाईं सर्वोच्च अदालत र बारमा आगजनी हुँदा खुसी हुनुपर्ने कारण के हो ?’
प्रधानन्यायाधीशकै प्रश्नले रातोपिरो भएर थरथर कापीसकेका खरेलमाथि इजलासमा रहेकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले पनि थप प्रश्न गरिन्।
‘न्यायाधीशको जति मर्यादा हुन्छ, त्यति कानुन व्यवसायीको पनि आफ्नो मर्यादा हुनुपर्ने होइन रु भदौ २४ गते कस्तो अवस्था थियो तपाईंहरुलाई थाहा नै छ । न्यायाधीशलाई पार्टीको झोले भनेको छ, अदालत मात्रै जल्यो न्यायाधीशलाई पनि जलाउनुपर्छ भनेर सार्वजनिक रुपमा बोल्दा विचार गर्नपर्छ कि पर्दैनरु मल्लले खरेललाई अगाडि भनिन्, ‘हामी तपाईंको क्षमतामाथि प्रश्न गर्दैनौं, राम्रै गर्नुभएको छ। यसले कानुन व्यवसायीले आफ्नो मर्यादा के ख्याल गर्नुपर्दैन। यसले हाम्रो न्यायालय कता पुग्छ?’
न्यायाधीशहरु खरेलमाथि प्रश्न गरिरहँदा भट्टराईले अवस्थालाई सहजिकरण गर्ने कोसिस गरेका थिए। तर खरेलको क्रियाकलापप्रति असन्तुष्ट न्यायाधीशहरु रोकिएनन्। खरेललाई इजलासबाट बाहिर निकालिसकेपछि पनि सामान्य अवस्थामा आउन प्रधानन्यायाधीश राउतलाई केही समय लागेको थियो।
मल्लले समेत उस्तै पेचिलो प्रश्न गरेपछि खरेल थप कापिरर ढल्ने अवस्थामा पुगेपछि कानुन व्यवसायी र सुरक्षाकर्मीले हत्तपत्त बाहिर निकालेर पानी खुवाएका थिए।
चौतर्फी आलोचनापछि हटाएको स्ट्याटसमा उनले लेखेका थिए, ‘सर्वोच्च अदालत जल्दै गर्दा तपाईंको मन रोएको होला, तर मेरो मन एक रत्ती पनि रोएको छैन । नेपाल बार भवन जल्दै गर्दा पनि तपाईंको आँखा रसाएको होला, तर मेरो आँखा एक रत्ती रसाएको छैन । किनकि, त्यही अदालत र त्यही बारमा म शेरबहादुर र केपी ओलीका अनुहारहरू पटक–पटक देख्ने गर्छु । यिनीहरु मेरो आँखामा संवैधानिक चोरहरु हुन् । साँच्चिकै संवैधानिक फटाहाहरु हुन्।’
‘अदालतलाई कब्जा गर्ने, बारलाई विकृत गर्ने, अनि जनताको अधिकार चुरोटजस्तै चुस्ने, राजनीतिक स्वार्थमा फैसला भनेर आफ्ना देउताको स्वार्थ अनुकूल निबन्ध लेख्ने यी नेतृत्वहरू नै आजको संकटका मुख्य जिम्मेवार हुन् । अब सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीशहरुको तथा नेपाल बार र मातहत बारहरुको सामूहिक राजीनामा माग्दछ र परीक्षाबाट मात्रै न्यायाधीश नियुक्तिको जोडदार माग राख्दछ । अब न्यायालयको भविष्य अवश्य सुलभ खरेलले लेख्नेछ । नेपालको न्यायालयको जय होस् । विकृत न्यायालय एक रत्ती चाहिँदैन ।’ भदौ २४ मा अदालतमा आगजनीपछि अधिवक्ता खरेलले सामाजिक सञ्जालमा लेखेका थिए ।


