लघुकथा
अनिष्ट
दिव्य गिरी
“पहिले मानिसहरू धर्म कर्ममा बढी ध्यान दिन्थे । अफ्नो खेतीपाती र व्यवसायमा लागेका हुन्थे । जुनसुकै जात र भाषाका भए नि आपसमा मिलेर नै बसेका थिए । अहिले जताततै मानिस मानिसबिच रडाको मात्रै भइरहेको छ ।” चौतारीमा बसिरहेका मध्ये एकजना वृद्धले भने ।
“त्यो समय र अहिलेको समय फरक छ, काका । उहिले मानिसहरूलाई बिहान-बेलुकीको मानो जुटाउने पहिलो प्राथमिकता थियो । सबैजना काममा नै व्यस्त थिए । राजनीतितिर लाग्ने फुर्सद थिएन । अहिले हेर्नुस् त छिमेकी छिमेकी मै काङ्ग्रेस, एमाले र माओवादी… इत्यादि दलको झन्डा समात्नेहरू छन् । आपसमा विचार मिल्दैन, मन मिल्दैन र कुरा झनै मिल्दैन अनि रडाको भैहाल्छ नि ।” अधवैंसेले भने ।
धेरैबेरसम्म यस्तै यस्तैमा बहस भइरहेको थियो । पर गाउँबाट एकजना दस एघार वर्षको केटा दौडँदै अाएर भन्यो -“हाम्रो गाउँका मुखियाको घरमा आगो लगाउने भन्दै हूलका हूल मान्छे जाँदै छन् ।”
त्यहाँ जम्मा भएका वृद्धहरूले एकै स्वरमा भने -“अब देशमा अनिष्ट सुरू भयो, जहाँ पनि आगो मात्रै लगाउनेको भीड बढेको छ ।”
महालक्ष्मी न.पा.५
टीकाथली, ललितपुर ।