
काठमाडौं।नेकपा (एमाले) ले मंगलबार ७५३ वटै पालिकामा जनसभा गरिरहेको छ।
संविधानको रक्षा र प्रतिनिधि सभा पुनस्र्थापानाका लागि भन्दै जनपरिचालनलाई तीव्रता दिएको एमालेले आज पालिका तहमा प्रदर्शन केन्द्रित गरेको हो। प्रदर्शन बिहान ७ बजेदेखि नै सुरू भएको र यो क्रम साँझ पाँच बजेसम्म रहने एमालेले जानकारी दिएको छ।
पालिका तहको प्रदर्शनका लागि एमाले महासचिव शंकर पोखरेलले पाँच बुँदे निर्देशन दिएका थिए। त्यहीअनुसार आज बिहानैदेखि पालिका तहमा प्रदर्शन, भेला र अन्तरक्रिया भइरहेको एमालेले जानकारी दिएको छ।
एमालेले कात्तिक २२ गते वडा तहमा जनप्रदर्शन गरेको थियो। अब जिल्ला तहमा कात्तिक २९ गते हुनेछ। काठमाडौंमा मंसिर ६ गते व्यापक जनप्रदर्शन गर्ने एमालेले बताएको छ।
प्रदर्शन भव्य बनाउन हरेक सहभागीले एमालेको झण्डासहित जनप्रदर्शनमा सहभागी हुने, जनप्रदर्शन घना बस्ती भएको ठाउँमा गर्ने, जनप्रदर्शनको अन्त्यमा छोटो कोणसभा गर्ने र कोण सभामा वर्तमान राजनीतिक अवस्थाका बारेमा स्पष्ट पार्न नेताहरुलाई एमालेले निर्देशन गरेको छ । जनप्रदर्शनका तस्विर, भिडियो र मुख्य विषयवस्तु हरेक सदस्यले सामाजिक सञ्जालमा शेयर गर्न र सञ्चार माध्यमहरुमा पठाउन पनि एमालेले यसअघि नै पार्टी महासचिव शंकर पोखरेलले निर्देशन गरिसकेका छन् ।