
काठमाडौं।आज शनिबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ हेरफेर भएको छ।
निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रूपैयाँ घटाएको हो।तर पेट्रोलको भाउ भने यथावत रहेको छ ।
त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाएको हो।
निगमका अनुसार शुक्रबार भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूचीमा पेट्रोलको भाउ ०.०३ रूपैयाँ र हवाई इन्धनको ०.८६ रूपैयाँ बढेर आएको छ। डिजेलको १.१९ रूपैयाँ घटेर आएको छ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब डिजेल–मट्टीतेलको प्रतिलिटर १४१ रूपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा प्रतिलिटर १४३ रूपैयाँ पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा डिजेल–मट्टीतेलको प्रतिलिटर १४४ रूपैयाँ पर्नेछ।