
काठमाडौं।इसराइलले गजामा हवाई हमला गरेको छ।
हमासले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै मंगलबार इसराइलको विभिन्न भूभागमा मंगलबार हवाई हमला गरेको हो।
हमलाबाट कम्तिमा २६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
यो हमला गजामा अमेरिकी मध्यस्थतामा युद्धविराम घोषणा भएको तीन साता नबित्दै भएको हो।
रोयटर्सका अनुसार गजाको बुरेज शरणार्थी शिविरमा एक घरमा भएको विस्फोटमा पाँच जना, गाजाको सब्रा टोलमा एक भवनमा चार जना र खान युनिसमा गुडिरहेको गाडीमा हवाई हमला हुँदा पाँच जना मारिएका छन्।
आक्रमणहरू बुधबार बिहानैसम्म पनि जारी रहेको प्रत्यक्षदर्शीहरूले जनाएका छन्।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सेनालाई गजामा शक्तिशाली प्रहार गर्न आदेश दिएको बताएको छ। सेनाले तत्काल टिप्पणी नगरे पनि एक इसराइली सैन्य अधिकारीले हमासले इसराइली नियन्त्रण क्षेत्रभित्र आक्रमण गरी युद्धविराम तोडेको दाबी गरे।
नेतान्याहुले मंगलबारै हमासले बन्धकको भनेर गलत शवहरू हस्तान्तरण गरी युद्धविराम उल्लङ्घन गरेको आरोप पनि लगाएका थिए।
