
काठमाडौं । सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्ने माग अघि सारिएको छ ।
जेनजीद्वारा आह्वान जनआन्दोलन, २०८२ समन्वय संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुकलाई निकास दिन राजनीतिक दलहरूसहितको सर्वपक्षीय अन्तिम सरकार गठन हुनुपर्ने माग गरेको हो ।
राष्ट्रिय संकट समाधानका लागि राजनीतिक दल, नागरिक समाज र जेनजी आन्दोलनका प्रतिनिधि सम्मलित सो सरकार गठन हुनुपर्ने माग गरेको समितिका प्रतिनिधि लेनिन विष्टले बताए । उनले सो सरकारले गहन छलफल गरी १८ महिनाभित्र संविधान संशोधन, निर्वाचन प्रणालीमा आमूल सुधार, राष्ट्रिय नीतिमा पुनरावलोकन गरी मुलुकलाई निर्वाचनमा लैजानुपर्ने जिम्मेवारी पूरा गर्ने लक्ष्य राख्नुपर्ने आफूहरूको प्रस्ताव रहेको समेत बताए ।
संघर्ष समितिले सो सरकार गठनका लागि सहयोग गर्न कांग्रेस, एमाले लगायतका पुराना राजनीतिक दलहरूलाई पनि आग्रह गरेको छ । संयोजक विष्टले नयाँ सरकार गठनका लागि आफूहरूले विभिन्न राजनीतिक दलहरूसँगको छलफललाई अघि बढाइसकेको समेत बताए । न्युज एजेन्सी नेपाल




