
काठमाडौं।नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।
कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए।
कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिए।
‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन,’ उनले भने।
भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार परेको छ।
तिहारको भाइटीकाको दिनलाई यमद्वितीया पनि भनिन्छ । यस दिन भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।
शुभ कर्ममा चन्द्रमालाई अघि (सम्मुख) वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।
आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गर्नु पर्दछ ।
त्यसपछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार टीका लगाइदिने गर्दछन् । अनि मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिएर आशीर्वाद दिन्छन् ।
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।


