काठमाडौं।प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा बिहिबार सम्बोधन गरेकी छन्।
आफु प्रधानमन्त्री भएको १३औं दिनमा उनल देशको वर्तमान राजनीतिक अवस्था, आसन्न निर्वाचन, सुशासनका प्रतिबद्धता र जेनजी पुस्ताको आन्दोलनबाट उठेका मुद्दाहरूमा आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले आफ्नो ६ महिनाको अन्तरिम कार्यकालमा इमानदार प्रयासका साथ धेरै काम गर्ने प्रतिबद्धता जनाउँदै सरकारी सेवालाई झन्झटमुक्त बनाउने प्रमुख प्राथमिकतामा रहने बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकार कटिबद्ध रहेको बताएकी छन् ।
उनले यसका लागि निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरिसकेको जानकारी दिँदै विशेषगरी जेनजी पुस्तालाई भोट हाल्ने वातावरण बनाइने बताइन् । उनले सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरूलाई एकताबद्ध भई निर्वाचनलाई सफल बनाउन पनि आफ्नो सम्बोधनमा आह्वान गरेकी छन् ।
संविधान र लोकतान्त्रिक व्यवस्थाप्रति आफ्नो सरकारको पूर्ण प्रतिबद्धता दोहोर्याउँदै जेनजी आन्दोलनको मागअनुसार संविधान संशोधन आवश्यक परे चुनावपछिको नयाँ बन्ने संसद्ले वैधानिक प्रक्रियाबाट गर्न सक्ने बताइन् । यसका लागि निर्वाचनमा सहभागी हुन जेनजी पुस्तालगायत सबै सरोकारवालालाई उनले आग्रह गरिन् ।
विदेशमा रहेका नेपालीहरूलाई सम्बन्धित ठाउँबाटै मतदान गर्नसक्ने सम्भावनाबारे सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको उनले जानकारी दिइन् ।
उनले सुशासनमा प्रतिबद्धता जनाउँदै गुणस्तरीय र सम्मानपूर्ण जीवन, आर्थिक विकास र समृद्धि, सामाजिक न्याय र भ्रष्टाचारको अन्त्य वर्तमान सरकारको साझा एजेन्डा रहेको प्रधानमन्त्री कार्कीले बताइन् ।
उनले सरकारी कार्यालयमा विनाझन्झट सेवाप्रवाह हुने सुनिश्चितता दिलाउन चाहेको बताउँदै भ्रष्टाचार न्यूनीकरण, विधिको शासन, सामाजिक न्यायको प्रत्याभूतिलगायत क्षेत्रमा वर्तमान सरकारले दृढताका साथ काम गर्ने बताइन्।
प्रधानमन्त्री कार्कीले विगतमा भएको भ्रष्टाचारको छानबिन गर्ने प्रतिबद्धता पनि जनाउँदै आन्दोलनमा भएको लुटपाट, तोडफोड गर्दा व्यक्तिको घरमा देखिएको नगद र सम्पत्तिमा सरकारको निकायले छानबिन गर्न थालिसकेको समेत जानकारी गराइन् ।
। उनले जेनजी आन्दोलनमा विद्यार्थीहरूको हत्या गर्नेलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताइन् ।
जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका कतिपय विषयहरू तत्काल सम्बोधन गर्न नसकिने प्रकृतिका भएकाले आगामी निर्वाचनपश्चात् संवैधानिक प्रक्रियाबाट समाधान खोजिने पनि उनको भनाइ थियो ।
विशेषगरी संसद् विघटन मात्र नभई संविधान नै फाल्नुपर्ने जस्ता जेनजीका मागहरू यो अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय रहेको उनले स्पष्ट पारिन् ।
प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा प्रधानमन्त्री कार्कीले क्षति भएका भवनहरूको पुनर्निर्माण कार्यमा सबै जुटिसकेको जानकारी पनि दिइन्।
