अगरबत्ती
युवराज मैनाली
फेरि आएको थियो केही! तर आउने, जाने,बस्ने वा हराउने भन्ने पहिचानले यहाँ काम गर्दैन। किनभने जो आइपुग्दछ त्यो आफैँसँग नजिक हुन्छ तर परिवेशसँग अपरिचित। वरिपरिका रेखाहरू स्थिर छैनन् । कहिले तिनीहरू वस्तु लाग्छन्,कहिले मात्र सम्झनाको बनावट। दिनहरू गणनाहीन थिए तर प्रत्येक क्षण आफैलाई दोहोर्याउँथ्यो । दोहोरिएको थाहा नहुने अनि,पूरै छुट्टिएको अनुभूति पनि नहुने। केही प्रस्तावित थियोस् न त आवश्यकताको रूपमा,न त स्वागतको। त्यो केवल अस्तित्वको लघुरेखा थियो अभेद्य तर अगम्य चाहि होइन।
त्यो सुम्पिएको थियो कसैले। कतिखेर ? किन ? त्यो प्रमाणित गर्न सकिएको थिएन। एउटै संरचना थियो तर अर्थ बहुआयामी। एउटै रूप तर परिप्रेक्ष्यहरू बहुपथ। यसको अस्तित्व आफैंमा सन्देह थियो जसरी ऐनाले ऐनालाई हेर्दा बनेको प्रतिबिम्ब,दृष्टि होइन। नयाँ स्थानमा त्यो वस्तु चुपचाप थियो। तर त्यो मौनता सक्रिय देखिन्थ्यो। त्यहाँ समय स्थगित थियो, घटना भने अझै साँचा लाग्थे।
भित्र एउटा लिपि भेटियो । तर लेखनको प्रयोजन आत्म-अस्वीकृत। सन्देश स्पष्ट थिएन न त अस्पष्ट नै। त्यो न बुझ्नका लागि लेखिएको थियो न भुल्नका लागि। सन्देश यस्तो लाग्थ्यो “जब जल्छौ कुनै स्वर माग्ने छैनौ। जब निभ्छौ कुनै उज्यालो बाँकी रहने छैन।” को जल्नुपर्ने हो ? किन निभिनुपर्ने हो? यसको उत्तर लेखिएको थिएन। किनभने प्रश्न नै गरिएका थिएनन्। त्यसपछि केही पनि गरिएन। केवल राखियो-अव्यक्त तर उपस्थित। मौन तर दिशानिर्देशक। बुझ्न खोज्नेहरू थाके। त्यसपछि त्यही थकाइ एउटा नयाँ पूजा बन्यो। जहाँ देवता को हो भन्ने प्रश्न आवश्यक रहेन।