
काठमाडौं।हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।
बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहीबार बिहान राजधानी सहित देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ।
बिहीबार दिउँसो बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भुभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
लुम्बिनी प्रदेशको तराइ साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको छ।
बिहीबार राति देशभर साधारणतया बदली रहनेछ महाशाखाले जनाएको छ।
राति देशका पहाडी भूभागका धेरै स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भूभाग साथै लुम्बिनी प्रदेश र कोशी प्रदेशका तराइका भूभागका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
विहान चितवनको काली खोलामा २५ मिलिमिटर वर्षा भएको छ। बर्दियाको स्यानो श्री चेपाङमा २०.६ मिलिमिटर, बाराको सिमरामा १४.४ मिलिमिटर, काभ्रेपलाञ्चोकको नालामा १०.२ मिलिमिटर वर्षा भएको छ।
