
काठमाडौं।दक्षिणी गाजाको खान युनिसमा रहेको नासेर अस्पतालमा इजरायलले गरेको दोहोरो आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
गाजा क्षेत्रको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार उक्त आक्रमणमा मृत्यु हुनेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत पाँच पत्रकार पनि छन् ।
रोयटर्स, एपी, अल जजिरा र मिडल इस्ट आईमा काम गरेका पत्रकारहरूको मृत्यु भएको समाचार संस्थाहरूले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुखले चार स्वास्थ्यकर्मीको पनि मृत्यु भएको बताएका छन् ।
आक्रमणको भिडियो फुटेजमा पहिलो आक्रमणबाट प्रभावितहरूलाई सहयोग गर्न आएका उद्धारकर्मीहरूलाई दोस्रो आक्रमणले लक्षित गरेको देखिन्छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो घटनालाई दुखद् दुर्घटना भनेका छन् । उनले सैन्य अधिकारीहरूले गहन अनुसन्धान गरिरहेको बताएका छन् ।
यो पछिल्लो घटनासँगै सन् २०२३ को अक्टोबरमा गाजामा युद्ध सुरु भएयता मृत्यु भएका पत्रकारहरूको संख्या झन्डै २०० पुगेको छ ।
प्रेस स्वतन्त्रताको प्रवर्द्धन गर्ने एक प्रमुख संस्थ कमिटी टु प्रोटेक्ट जर्नालिस्ट ९सीपीजे०का अनुसार गाजाको युद्ध पत्रकारहरूका लागि अहिलेसम्मकै सबैभन्दा घातक द्वन्द्व भएको छ ।
यसले विगत दुई वर्षमा गाजामा मारिएका पत्रकारहरूको संख्या त्यसअघिका तीन वर्षमा विश्वभर मारिएका पत्रकारहरूको भन्दा बढी भएको बताएको छ ।


