
काठमाडौं। उपन्यासकार उमा सुवेदीको नविनतम् उपन्यास ‘परिधि’ आज एक कार्यक्रम बीच लोकार्पण गरियो ।
पर्यटन बोर्डमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार गौरी मल्ल, निबन्धकार कुमारी लामा,राजनीतिक विश्लेषक एवं लेखक केशब दाहाल र उपन्यासकार सुवेदीले उक्त कृतिको लोकार्पण गरे ।
निबन्धकार कुमारी लामाले सुवेदीको उपन्यासले विषयवस्तुको उठान गहिरो गरेको बताइन् । लामाले भनिन्-‘परम्पारिक कथा लेखनी भन्दा फरक ढंगले उपन्यास प्रयोगवादी लाग्छ। पाठकले निक्कै ठूलो क्षेत्र र बहु आयाम पाउँछ। मनोलोकभित्रका पात्रहरु,फरक कथा प्याट्न,कल्पनाशिलताको प्रचुरता हामी टेकेकै धरातलमा उडान भरिएको छ।’
‘उपन्यासमा उत्तरआधुनिक तरिकाको प्रयोग गरिएको पाइन्छ ।पात्रहरुको मनोगत कुराहरु बिम्वात्मक रुपले पोखिएका छन्। उपन्यास परिधिको आयाम विशाल छ।’ लामाले भनिन् ।
‘भाद्र १९ बाट शुरु भएको उपन्यास भाद्र १९ मै सकिएको संजोग भएको ‘परिधि’भित्र तिलस्मी संसार सृृजना गरिएको छ,त्यो संसारभित्र अनौठा पात्र र कुराहरु भेट्न सकिन्छ।’ वरिष्ठ कलाकार गौरी मल्लले भनिन्। उनले उपन्यास साइको थ्रिलर भएको पनि बताइन् । उनले भनिन्- ‘उपन्यास पढ्दै जाँदा हरेक पात्रभित्र आफुलाई पाउँछ।’
अर्का टिप्पणीकार केशव दाहालले भने- ‘भ्रम र यथार्थ सम्मिलन भएको र पात्रहरुद्धारा कल्पनाको विचित्र संसार स्थापना गर्न उपन्यासकार खोजेकी छिन्।जीवन,जगत,प्रेम,संघर्ष जस्ता कुराहरुमा पात्रहरुद्धारा अन्तरक्रिया गराइएको छ।समाज र यसका अन्तरद्धन्दहरु उजागर गर्न उपन्यास सफल भएको छ।’
कृतिकार उमा सुवेदीले लेखन अनुभूति सुनाइन् ।
‘कोरोनाको पहिलो कालमा जागीरको सिलसिलामा सुदुर पश्चिममा विताउँदा भेटका एक पात्र मार्फत व्यक्तिका मनमस्तिष्कमा भएका जटिल आयामहरु सुन्ने मौका पाएँ । पात्रलाई मस्तिष्कमा बोकेर काठमाडौं आएँ । र यहाँको स्थानीयतामा अन्तरघुलन गराएर लेखें।’
उनले उपन्यास तयार पार्न धेरै समय लागेको पनि वताइन् ।
कार्यक्रममा साङ्ग्रिला प्रकाशनकी आन्विका गिरीले स्वागत मन्तव्य राखिन् ।
परिधिलाई साङ्ग्रिला प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य रु.५००। रहेको छ।




