निबन्ध
मान्छेका रङहरू, रूपहरू
ज्ञानेन्द्र विवश
यो संसारमा सबैभन्दा गहिरो र बुझ्न कठिन कुरा के होला ? सायद यो प्रश्नको उत्तर हामी सबैसँग छ त्यो हो, मान्छे र उसको मन । हामी जीवनभरि अनगन्ती मान्छेसँग भेट्छौँ, सम्बन्ध गाँस्छौँ र आफूलाई उनीहरूको नजिक भएको महसुस गर्छौँ ।
वर्षौँको संगतपछि पनि जब कुनै मान्छेको अप्रत्याशित व्यवहार देखिन्छ, तब हामी अलमलिन्छौँ, साेंच्न बाध्य हुन्छौँ– ‘के मैले उसलाई चिन्नै सकिनँ र ? के मैले उसको मन दुखाउने कुनै नराम्रो काम गरे र !?’
मान्छेका अनेक रङहरू र अनेकौँ रूपहरू हुन्छन् । तिनलाई बुझ्न सकिँदैन रहेछ । मान्छेको मन एउटा रहस्यमय सागर जस्तै हो । उसको गहिराइ मापन गर्न सकिँदैन । बाहिरबाट मुस्कुराएको मुहारले भित्रभित्रै आँसु लुकाएको हुन सक्छ । मीठा शब्द बोल्ने ओँठले भित्रभित्रै तीता भावनाहरू लुकाएको हुन सक्छ ।
हामी कसैको बाहिरी रूप, व्यवहार र कुराहरूबाट प्रभावित हुन्छौँ । तर, उसको मनभित्रको वास्तविक संसारसम्म पुग्न सक्दैनौँ । त्यहाँ कति कूटिल स्वभाव बसिरहेको हुन्छ । त्यही मनभित्र कोमल सहयोगी, मायालु भावना पनि बसिरहेको हुन्छ ।
कसैलाई चिन्न नसक्नु हाम्रो कमजोरी हो कि मान्छेको रहस्यमय जीवनशैली ? यो प्रश्नको कुनै एक निश्चित उत्तर छैन । मान्छे आफैँमा एक जटिल प्राणी हो । उसको मन परिस्थितिअनुसार परिवर्तन भइरहन्छ । भावनाहरूले दिशा बदलिइरहन्छन् । सहजै मान्छेलाई चिन्नु र बुझ्नु भनेको अग्नी परीक्षामा उत्तीर्ण हुनु जस्तै हो ।
आजको राम्रो मान्छे भोलि खराब बन्न सक्छ र आजको खराब मान्छे भोलि राम्रो बन्न पनि सक्छ । मान्छेको मन यति तरल छ कि त्यसलाई कुनै एउटै परिभाषामा बाँध्न सकिँदैन । एउटै उही आँखाले हेरेर विश्वास गर्न सकिँदैन ।
सायद, मान्छेलाई पूर्ण रूपमा चिन्न सम्भव नै हुँदैन । मान्छे र उसको मनको रहस्यलाई बुझ्ने प्रयास गर्नु आफैँमा एउटा सुन्दर यात्रा हो । यो यात्रामा हामी नयाँ–नयाँ अनुभवहरू बटुल्छौँ, आफूलाई परिपक्व बनाउँछौँ । मान्छेको मनको गहिराइमा पुग्ने प्रयास गर्नुभन्दा पनि हामीले उनीहरूको सम्मान गर्न, प्रेम गर्न र उनीहरूलाई जस्ता छन् त्यस्तै स्वीकार गर्न सिक्नुपर्छ । आखिर, हामी सबै आफैँमा एक रहस्य नै त हौँ ।
मान्छे, एकै शब्दमा सानो लाग्छ, तर यसका रूप र रङ भने असीमित छन् । कुनै चित्रकारले रङहरूको सबै भण्डार खाली गरेर पनि मान्छेका स्वभाव चित्रित गर्न सक्दैन होला । कोही मुखमा चिनी हालेर बोल्छन्, मुस्कानमा घाम झार्छन् । कोही शब्द तिखारेर, भाव कठ्याङ्ग्राएर बोल्छन् । कोही बोल्दा पैसा लाग्छ जस्तै गर्छन् । ठुस्स फुलेर बस्छन् । चिनेको मान्छे देख्दा अपरिचित ठान्छन् । कोही नचिनेको मान्छे पनि चिनिरहेको जस्तै मिजासको बोली र व्यवहार गर्छन् ।
कसैले टाढाबाट मायालु दृष्टिले हेर्छ । नजिकै आएर केही नबोली पनि मनको भाषा बुझाइहाल्छ । तर यस्तै बेला, अर्कोतिर कोही त कर्के दृष्टि फ्याँकेर तर्किएर जान्छ । नदेखेको जस्तो, नहेरेको जस्तो नाटक गर्छ । लाग्छ, यो समाज र यस संसारमा तपाईंको अस्तित्व नै छैन जस्तै व्यवहार गर्छ ।
सम्बन्धका दूरी पनि अचम्मका हुन्छन् । टाढा भएर पनि सम्झनाको तरङमा नजिक भएजस्तो लाग्नेहरू छन् । अनि नजिकै भएर पनि मनको द्वार थुनेर टाढा–टाढा बस्नेहरू पनि छन् । भेटिनु भनेको सधैँ शारीरिक उपस्थितिको कुरा होइन; कतिपय त नभेटिएर पनि भेटिन्छन्– स्मृतिमा, म्यासेन्जरमा वा कुनै पुरानो तस्बिरको धुँवाधुलोमा । तर कतिपयलाई त भेट्ने अवसर खोज्दा–खोज्दै पनि, उनीहरू भेटिनै नचाहने पर्खालभित्र कैद रहन रुचाउँछन् ।
मान्छे कति किसिमका ? म गन्न थाल्छु, छुट्याउन खोज्छु, तर पक्का सूची बन्नै सक्दैन । कोही काम पर्दा मात्रै मुस्कानको चाबी खोलेर बोल्छन् । काम सकिएपछि त्यो चाबी कहाँ हराउँछ, थाहा हुँदैन । बिरानो भएर मान्छेकै भीडमा हराउँछन् । कुनै दिन कतै भेटिँदा चिन्दैनन्, बोल्दैनन्, मुसुक्क मुस्कानको अर्थ त्यहाँ अर्थहीन हुन्छ । कोही छन्, बोल्नलाई कुनै बहाना चाहिँदैन तर उनीहरूको शब्द वर्षा कहिलेकाहीँ तुफानझैँ थकाइ दिने हुन्छ । वाक्कदिक्क पार्ने, सुन्ने मनै नहुने पनि हुन्छन् ।
यो संसारमा बोल्ने, नबोल्ने, हेर्ने, नहेर्ने सबै छन् । अनेक स्वभाव, अनेक शैली, अनेक थरी ! यिनैमा हाँसिरहेकाहरू । रोइरहेका र सहयोग गरिरहेका पनि छन् । अरूलाई सताइरहेका पनि छन् ।
म पनि त्यसैमा छु– अरूले मलाई हेर्दा जस्तो देख्छन्, सायद म त्यस्तो छैन । म आफूलाई जस्तो देख्छु, अरूले त्यस्तो देख्दैनन् । यही अन्योलमा, मान्छेभित्रको मान्छे म खोजिरहन्छु ।
अन्ततः मान्छे चिन्नु भनेको एउटा लामो यात्रा हो । त्यस यात्रामा हामी कहिले चित्रकार, कहिले आलोचक, कहिले दर्शक बन्छौँ । तर यो यात्रा नत्थी छैन । किनकि मान्छेका रङ र रूपहरू कहिल्यै एउटै किसिमका हुँदैनन् ।
त्यसो त, मान्छे जस्तो सजिलो र सहयोगी अरू हुँदैनन् । तर मान्छे जस्तो अपठ्यारो र अपजसी पनि अरू हुँदैनन् रहेछ । कोही गुन नदेख्ने बैगुनी ठान्ने । कोही गुन देखेर स्याबासीको धाप मार्ने । मान्छेको मन कपास जस्तै हलुका र कोमल पनि हुने रहेछ । कुनै मान्छेको मन फलाम जत्तिकै गरौँ पनि हुँदोरहेछ ।
अतः मान्छेका रङहरू र रूपहरू कति हो कति ?