
काठमाडौं।नेकपा (एकीकृत समाजवादी) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बाहिरिएको छ ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालबीच सार्वजनिक रूपमै व्यक्तिगत रूपमा आरोपप्रत्यारोप चलिरहेको छ।
शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष नेपालले खनाललाई एमालेमै फर्केर ओलीको सेवा गरे हुन्छ भन्ने टिप्पणी गरेपछि खनालले साँझ नेपाललाई आफ्नो अनुहार ऐनामा हेर्नु र आफै एमाले फर्किनेबारे सोच्न आग्रह व्यंग्यात्मक आग्रह गरेका छन्।
न्युज एजेन्सी नेपालमार्फत् प्रतिक्रिया दिँदै सम्मानित नेता खनालले एमालेबाट विद्रोह गरेको चार वर्ष बितिसक्दा पनि त्यसको औचित्य पुष्टि गर्न नसकेको र अध्यक्ष नेपाल आफैले जनताको बहुदलीय जनवाद (जबज) लाई त्याग्न नसकेको आरोप लगाए।
जबजको मुख्य केन्द्र नेकपा (एमाले) नै भएकाले, जबज छोड्न नसक्ने अध्यक्ष नेपाल स्वयं एमालेमा फर्कनु तर्कसंगत हुने झलनाथ खनालले बताए।
केही समयअघि अध्यक्ष नेपालले पार्टी विद्रोहको औचित्यमाथि प्रश्न उठाएको भन्दै खनालप्रति कडा टिप्पणी गरेका थिए।
न्युज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै सम्मानित नेता खनालले विवादलाई सञ्चार माध्यममा ल्याउनुको सट्टा, १० देखि १५ दिन लामो केन्द्रीय कमिटीको बैठक बोलाएर वैचारिक विषयहरूमा गम्भीर छलफल गर्न सुझाव दिएका छन्।