
भैरहवा । पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।
उनको सचिवालयका अनुसार लुम्बिनी प्रदेशस्तरीय दुईदिने विस्तारित बैठकमा भाग लिन जाने क्रममा भैरहवास्थित कारागारमा पुगेर उनले लामिछानेसँग भेट गरेका हुन् ।
बाबुरामले लामिछानेलाई न्यायिक हिरासतमा राखेर अन्याय गरिएको बताए ।
उनले भने, “उहाँमाथि फैसला भइसकेको छैन, अहिले उहाँ न्यायिक हिरासतमा हो । उहाँजस्तो मान्छेलाई, अदालतले नै व्याख्या गरिसकेको हुनाले म टिप्पणी गर्न चाहन्नँ । तैपनि, कोही मान्छे भाग्छ, थप अपराध गर्छ भन्ने लाग्दाखेरिचाहिँ न्यायिक हिरासतमा राख्ने हो ।”
उनले अगाडि भने, “तर, एउटा जनताको प्रतिनिधि रहेको मान्छे भागेर पनि सुख पाउँदैन भन्ने कुरा त अनुमान गरेरै पनि जमानतमा बाहिरै भएर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्थ्यो भन्ने मेरो मान्यता हो, यतातिर किन ध्यान पुगेन ?”
जनप्रतिनिधिलाई यसरी थुनामा राख्नुभन्दा पद नै खारेज गरेर नयाँ चुनाव गर्दा राम्रो हुने पहिलेकै प्रस्ताव उनले दोहोर्याएका छन् ।



