
लघुकथा
अभियन्ता
लीलाराज दाहाल
केही मानिसहरु भेला भए ! पुरानो बसपार्क छेउमा !
उनीहरूले एकै प्रकारका पोशाक लगाएका थिए ! पोशाकको अगाडि पछाडि दुबैतिर र टोपीमा सरसफाइ अभियान लेखिएको थियो ! उनीहरू वातावरण दिवस मनाउँदै थिए !
” आफ्नो टोल, नगर सफा राखौं ” लेखिएको प्लेकार्ड बोकेका थिए ! उनीहरूको उद्धेश्य भनेको धुम्रपान, मद्यपानलाई निरुत्साहित गर्नु, सरसफाइको महत्त्वलाई जनस्तरमा पुर्याएर वातावरण संरक्षणको लागि जनचेतना जगाउनु हो भनेर बताइएको थियो !
उनीहरू पुरानो बसपार्क, रत्नपार्क, जमल हुँदै त्रिचन्द्र कलेज पुगेर अभियान समापन गर्ने सल्लाह गरी सडक छेउका फोहोरमैला टिप्दै, प्लेकार्ड देखाउँदै, फोटो खिच्दै हिँडिरहेका थिए ! टोली त्रिचन्द्र कलेज अगाडि पुगेर अडियो !
हात हातमा बोकेका प्लेकार्ड भुईंमा राखेर उनीहरूले बोतलको पानीले हात धोए ! कसैले चुरोट सल्काए ! कसैले बिस्कुटका प्याकेट झिके ! कसैले चाउचाउ निकाले ! अनि कसैले बिदेशी मदिरा गिलासमा खन्याएर, कसैले बोतलबाटै पिउन थाले !
हल्का बिश्रामपछि उनीहरू अगाडि बढे !
उनीहरूले खाएर फालेका बिस्कुट, चाउचाउका खोल अनि पानी र मदिराका खाली बोतलहरु भने सडकभरि जताततै छरिएका थिए !
वागमती ११, कर्मैया, सर्लाही






