
आज असार २९ अर्थात नेपाली साहित्यको प्राथमिक कालका विशिष्ट ब्यक्तित्व भानुभक्त आचार्यको जन्मदिन ।
वि.सं.१८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा उनको जन्म भएको थियो । भक्ति साहित्यमा त्यसमा पनि रामभक्ति धारामा योगदान गरेका भानुभक्तले संस्कृतभाषाबाट रामायण सरल नेपाली भाषामा अनुवाद गरी ठूलो योगदान गरेका थिए । अधिकांश नेपालीले संस्कृत भाषा नबुझ्ने बेला उनले गरेको अनुवाद महत्वपूर्ण मानिन्छ ।
रामायणको अनुवाद मात्र नभएर रामगीता,भक्तमाला,वधूशिक्षा,प्रश्नोत्तरी जस्ता महत्वपूर्ण कृतिहरु नेपाली साहित्यलाई दिएका भानुभक्तले छरिएर रहेको नेपाली भाषालाई एकिकृत गर्न महत्वपूर्ण योगदान दिएका छन् । यसरी हेर्दा उनको योगदान अनुवादक,कवि,लेखक देखिन्छ । उनले तीन दर्जन जति फुटकर कविता पनि लेखेका छन् ।
उनलाई अगाडि ल्याउन युवाकवि मोतिराम भट्टको योगदान रहेको छ । उनले नै भानुभक्तका कृतिहरुलाई अगाडि ल्याएको मानिन्छ । वि.सं.१९८१ मा मोतिरामले नै पहिलो पटक आदिकविको रुपमा भानुभक्तलाई चिनाएको मानिन्छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले शुक्रतारा सुन्दर हाम्रा नेपाली हे प्रथम ध्वनि भनेर सम्बोधन गरेवाट पनि आचार्यको योगदान प्रष्ट हुन्छ । धेरैले भानुलाई नेपाली भाषाको माध्यमबाट नेपाल एकिकरण गर्ने भाषाका एक अभियन्ता पनि भनेका छन् । नेपाल राज्यले उनलाई राष्ट्रिय विभूतिको रुपमा सम्मान पनि गरेको छ । भक्तिधारामा कविताराम्भ गर्ने भानु पाँच महिना जेल जीवन पनि व्यतित गरेका थिए यहि जेल जीवनमै रामायणका चार काण्ड पुरा गरेका थिए भनिएको छ । उतिबेलाको न्याय निरोपण गर्ने तौर तरिकामा भएको ढिलासुस्ती प्रति उनले यसरी कटाक्ष गरेका थिए :
विन्ति डिठ्ठा बिमारीसित म कति गरुँ चूप रहन्छन् नबोली ।
बौल्छन् ता स्याल गरेझैं अति पछि छिनछिन भन्छन् भोलीभोली ।।
कि ता सक्दिन भन्नु कि तब छिनिदिनु क्यान भन्छन् यी भोली ।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस आज झोली ।।
नेपाली न्याय प्रणालीमा उतिबेला भानुभक्तले गरेको यो प्रहार अहिले पनि सार्थक लाग्छ । उनीमा कति तिब्रतर ब्यँगचेत रहेछ भन्ने पनि यसबाट प्रष्ट हुन्छ ।
यस्ता आदिकवि भानुभक्तको वि.सं.१९२५ असोज ६ गते तनहुँको सेतीटारमा अल्पायुमै निधन भएको थियो । नेपाली भाषा,साहित्यमा विशिष्ट योगदान गर्ने आदरणिय राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यप्रति हार्दिक श्रद्धान्जली । (प्रधान सम्पादक)


