
काठमाडौं ।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टीको संसदीय दललाई निर्देशन दिएको हो।
‘हाम्रो पार्टीको कार्यकारिणी बैठकले सरकारलाई दिएको समर्थन पुनर्विचार गर्न संसदीय दललाई निर्देशन दिएको छ,’ पार्टी अध्यक्ष उपेन्द्र यादवले भने-‘सरकारको एक वर्षको कामको डेलिभरी र मूल्याङ्कनका आधारमा निर्णय गरेका हौँ।’
अध्यक्ष यादवले संसदीय दलको बैठक बसेर केही दिन भित्रै निर्णय लिइने बताए।
‘पार्टीले सरकारको कामबारे असन्तुष्टि व्यक्त गरेको छ,’ यादवले भने, ‘सरकारले आफूले गरेको प्रतिबद्धता पूरा गर्न सकेन। त्यसैले पुनर्विचार गर्ने निर्णय भयो।’
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुबैमा उपेन्द्र यादव नै नेतृत्वमा छन्।

