काठमाडौं।आख्यानकार झम्क तिमल्सिनाको नयाँ सामाजिक–दार्शनिक उपन्यास ‘विमुक्ति’ को लोकार्पण शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात सभाकक्षमा सम्पन्न भएको छ।
कार्यक्रममा प्राज्ञ तथा वरिष्ठ कथाकार माया ठकुरीको प्रमुख आतिथ्यमा साहित्यकार भुवनहरि सिग्देल, समालोचक डा। अशोक थापा र महेश पौड्यालले संयुक्त रूपमा कृतिको लोकार्पण गरे। प्रमुख अतिथि ठकुरीले ‘विमुक्ति’ ले सामाजिक अन्तरवस्तु समेटेको उल्लेख गर्दै कृतिले पाठकलाई प्रेरणा दिने विश्वास व्यक्त गरिन्।
“कृतिकारबाट आगामी दिनमा यस्तै रचना आउन्, प्रेरणा मिलोस,” उनले शुभकामना दिइन्। समालोचक डा। अशोक थापाले विमुक्ति मा एउटा उच्च वर्गीय, तर टुटेको परिवारको कथा प्रस्तुत गरिएको बताए। “सुविधाभोगी देखिने मानिसभित्र पनि पीडाको ठूलो पहाड हुन्छ,” भन्दै उपन्यासले सामाजिक यथार्थ उजागर गरेको बताए।
त्यस्तै अर्का समालोचक महेश पौड्यालले उपन्यासमा समाजका अदृश्य पक्ष र प्रौढ व्यक्तिका दुखहरू समेटिएको उल्लेख गरे। “धनीको पनि दुस्ख हुन्छ, त्यसैले विमुक्ति उच्च वर्गको दुःखको कथा हो,” उनले प्रस्ट पारे। साथै, “उडेर जहाँ पुगे पनि भुइँ नछाड्नुपर्ने” सन्देशसहित कृतिले जीवन र सुखदुखको विरोधाभास उजागर गरेको उनको भनाइ थियो। कृतिकार तिमल्सिनाले लेखनयात्रा पाठकको साथ र प्रेरणाले अघि बढ्ने बताए।
कार्यक्रमको अध्यक्षता गरेका साहित्यकार भुवनहरि सिग्देलले मन्तव्य दिँदै कार्यक्रमको समापन गरेका थिए। ‘विमुक्ति’ नेपाली साहित्यमा समाजको उच्च तहमा लुकेका मनोविज्ञान, दुःख र जीवनका गहिरा विमर्शहरू उजागर गर्ने कृति भएको सरोकारवालाहरूको धारणा छ।