
काठमाडौं। काभ्रेमा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का निर्देशक डा. चन्द्रभाल झाले नियमित परीक्षण गर्दा काभ्रेमा ६ सहित सात जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार एक जना राष्ट्रिय प्रयोगशालामा र छ जना काभ्रेमा गरी सात जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना सक्रमितको स्वास्थ्य सामान्य रहेको डा.झाले जानकारी दिए। राष्ट्रिय प्रयोगशालाका प्रवक्ता सन्तोष सुवेदीले प्रयोगशालाले नियमित कोरोना परीक्षण गर्दै आएको जानकारी दिएका छन्।
विश्व स्वास्थ्य संगठनले पनि विभिन्न देशका देखिएको कोरोना कडा नभएकोले नआत्तिन आग्रह गर्दै आएको छ। हाल नेपाल लगायत अन्य देशमा देखिएको कोरोना सामान्य रहेको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।
ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, दीर्घ रोगीलाई यदि कोरोना सङ्क्रमण भएमा गम्भीर लक्षण देखिन सक्ने भन्दै सचेत रहन डा.पुनले आग्रह गरेका छन्। उनले कोरोना फैलन नदिन भीडभाडमा जाँदा पहिलेको जस्तै जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन्।

