
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनले कुमारी क्लबविरुद्ध ३–१ को सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको १०औँ चरणको अन्तिम खेलमा मध्यपुर विजयी भएको हो ।
मध्यपुरको जितमा विकर्ण श्रेष्ठ, प्रज्वल थापामगर र सन्तोष गोंवाले गोल गरे ।खेलको ८६औँ मिनेटमा कुमारीका निशान्त प्रधानले सान्त्वना गोल गरे ।
खेलेको तेस्रो मिनेटमा विकर्णले गोल गर्दै टोलीलाई अग्रता दिलाए । २६औँ मिनेटमा प्रज्वलले अग्रता दोबर बनाए । इन्ज्युरी समयमा सन्तोषले तेस्रो गोल गर्दै मध्यपुरको जित निश्चित गरे ।
जितसँगै मध्यपुर ११औँ स्थानमा उक्लिएको छ । १० खेलमध्ये तीन जित, पाँच हार र दुई बराबरीबाट मध्यपुरको ११ अंक छ । मध्यपुरलाई रेलिगेसनको खतरा कायमै छ । टोली बाँकी तीनमध्ये एउटा खेलमा मात्र पराजित भए रेलिगेसन जोनमा झर्ने सम्भावना प्रबल छ ।
पराजित कुमारी सातौँ स्थानमा यथावत् छ । पाँच हजार, चार जित र एक बराबरीबाट कुमारीको १३ अंक छ ।






