
पनौती,काभ्रे । नेकपा एमालेका पोलिटव्यूरो सदस्य माननीय गोकुल बाँस्कोटाले देशभक्ति,सुशासन र विकासमा नेकपा एमालेसँग कसैले प्रतिष्पर्धा गर्न नसक्ने बताएका छन् ।
शनिबार नेकपा एमाले पनौती वडा नं.३ को दोस्रो वडा अधिवेशनको उद्घाटन गर्दै बाँस्कोटाले उक्त कुरा व्यक्त गरेका हुन् ।
उनले आफ्नो पहलमा थालिएका सबै अधुरा कार्यहरु पुरा गरिने प्रतिवद्धता समेत व्यक्त गरे ।
पञ्चायतकालमा समेत कुशादेवीमा एमालेले चेतनाको राँको बालेको पनि उनले स्मरण गरे। स्टन्टको राजनीति धेरै नटिक्ने ठोकुवा गर्दै बाँस्कोटाले असल दर्शन र विचारलाई अनुशरण गर्न आग्रह गरेका छन् । गत असोजको बाढी पहिरोबाट जोखिममा परेका वस्ती स्थानान्तरणका लागि निरन्तर आवाज उठाईरहेको उनले बताए । खानी र पानी एकै ठाउँमा रहन नसक्ने विषय आफुले पटक पटक उठाए पनि त्यसलाई ध्यान नदिँदा ठुलो विपत्तिको सामना गर्नुपरेको बाँस्कोटाले बताए ।
स्थानीय सरकारको आलोचना गर्दै उनले नगरको ध्यान राजस्वतर्फ मात्रै गएको भनाई व्यक्त गरे ।

राजावादी तर्फ लक्षित गर्दै एमाले नेता बाँस्कोटाले इतिहासको रथ अघि बढिसकेकाले अब नर्फकने बताए । उनले भने -“भुत भइसकेको राजतन्त्र व्युँताउन मसानघाटमा गरिने आन्दोलन निष्कर्षमा पुग्न सक्दैन् ।”
अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । अध्यक्षमा भिमसेन सापकोटा, उपाध्यक्ष गणेश घिमिरे, सचिव शशि घिमिरे, उप सचिवमा सुरथ तामाङ सहित २७ सदस्यीय वडा कमिटी निर्वाचित भएको छ ।

अधिवेशनकै अवसरमा नवराज कार्की माओवादी तथा सरोज सापकोटा नेपाली काँग्रेस परित्याग गरेर एमाले प्रवेश गरेका छन् ।
वडा कमिटी अध्यक्ष विष्णु प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य रमेश पौडेल, प्रदेश कमिटी सदस्य एवं पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जारा, पुर्व नगर प्रमुख भिम न्यौपाने, काभ्रे जिल्ला कमिटी सचिव राजकुमार सापकोटा, नगर कमिटी अध्यक्ष सुरेश हुमागाँई लगायतले आआफ्नो मन्तव्य व्यक्त गरे ।


