
कृति : अविश्रान्त राजनायक
विधा : व्यक्तित्व चर्चा
स्व.तुलसीलाल अमात्य । नेपाली कम्यूनिष्ट आन्दोलनका अगुवा । उनको विनयशीलता,सहह्रदयी स्वभाव,सरलताको पर्याय,सज्जनता र इमान्दारीपन,आधा शताब्दीभन्दा बेसी जीवन जनताको पक्षमा आन्दोलनमा समर्पित भएर लागे उनी । रौतहटको प्रसिद्ध ऐतिहासिक किसान आन्दोलनका नेता थिए उनी । उनको बारेमा विभिन्न लेखक,राजनीतिकज्ञहरुले लेखेका संस्मरण,जीवनी र उनको अन्तरवार्ता,लेख समेत समावेश गरी यो कृति प्रकाशित भएको देखिन्छ ।
कुन्दन अर्याल,सूर्य थापा र इश्वरी ज्ञवालीले सम्पादन गरेको अविश्रान्त राजनायकलाई वि.सं.०५४ मा अविर प्रकाशनले प्रकाशनमा ल्याएको हो ।
कृति : आधा जुन
विधा : उपन्यास
उपन्यासकार : झलक सुवेदी
पञ्चायती व्यवस्थाको उत्कर्षमा पुगेको बेला नेपालको राजनीतिक आन्दोलनमा सहभागी युवाको कथा हो यो । यसमा नायकले गरेको उत्सर्गको कथा छ । यो एक राजनीतिक उपन्यास हो । उतिवेलाको कम्यूनिष्ट आन्दोलनमा सहभागी निम्न मध्यमवर्गिय परिवारको युवाले आफ्नो जीवन मार्फत नेपाली समाजमा भुइँमान्छे वा भनौं गरिखाने मान्छेको पक्षमा गरेको योगदानमा तत्कालिन शासन व्यवस्थाले गरेको अपमान,भोगेका तिरस्कार लगायतका व्यहोराहरु यसमा समावेश गरिएको छ ।
अझै भनौं तत्कालिन कम्यूनिष्ट पार्टी मालेको गठन,पुर्नगठन,एकिकरण,विकास र आन्दोलनका आरोह अबरोहहरुको फेहरिस्त कथा हो यो । यथार्थजनित कथामा श्वैरकल्पना मिसाएर लेखिएको आञ्चालिक राजनीतिक उपन्यास पठनीय छ । यसले कम्यूनिष्ट आन्दोलनको एउटा धारको विसर्जन बारे राम्रै जानकारी दिन्छ ।
आधा जुन उपन्यासलाई फाइनप्रिन्टले विं.सं.२०७० मा प्रकाशनमा ल्याएको थियो ।
कृति : रातो आँसु
विधा ; उपन्यास
उपन्यासकार : कन्हैया नासनानी
प्रथम जनआन्दोलनको आवृतिभित्र लेखिएको यो उपन्यास हो । यसमा राजनीति मिसाइएको छ ।
उतिबेलाको राजनीतिक आन्दोलनका विभिन्न परिदृष्यहरु परेका छन् ।
सरल भाषाशैली,सुललित बगेको कथानकता,मीठो सम्बादको त्रिवेणी देखिन्छ उपन्यास ।






