
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अद्यावधिक गरेको नयाँ वरीयतामा नेपाली राष्ट्रिय महिला टिम चार स्थान सुधार गर्दै ९९औँ स्थानमा उक्लिएको हो । यसअघि टिम वरीयताको १०३औँ स्थानमा थियो ।
नेपाली महिला टिमले हालैमात्र घरेलु मैदानमा सम्पन्न चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको थियो । फिफा फेब्रुअरी विन्डोको यही प्रदर्शनका कारण नेपाली टिम चार स्थान माथि उक्लिएको हो ।
दक्षिण एसियाको वरीयतामा शीर्ष स्थानमा रहेको भारत ६९औँ स्थानमा यथावत् छ ,भने नेपाल दोस्रो स्थानमा छ । यस्तै, तेस्रो स्थानको बंगलादेश १३३औँ स्थानमा छ । चौथोमा रहेको पाकिस्तान १५७औँ, पाँचौँ स्थानको श्रीलंका १५८औँ, छैटौँ स्थानको माल्दिभ्स १६३औँ र सातौँ स्थानको भुटान १७१औँ वरीयता क्रममा छन् । वरीयताको शीर्ष स्थानमा भने अमेरिका यथावत् छ ।






