
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज पुनः अदालतमा उपस्थित हुने भएका छन् ।
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आज १० बजे इजलासमा उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो ।
हिजो थुनछेक बहस नसकिएका कारण उनलाई हिरासतमा पठाइएको थियो । योसँगै रवि थुनछेक बहस नसकिएसम्म प्रहरीको नियन्त्रणमा रहने छन् । उनी जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहने भएका छन् ।सरकारी वकिल पक्षले लामिछानेको बयान अध्ययन गर्न समय आवश्यक रहेको जनाउँदै थुनछेक बहस अगाडि नबढाउन आग्रह गरेपछि इजलासले लामिछानेलाई प्रहरी जिम्मा लगाउने निर्णय गरेको थियो ।
बयानपछि लामिछानेले परिवारको जिम्मा लगाउन आग्रह गरे पनि न्यायाधीशले प्रहरीकै जिम्मा लगाउन उपयुक्त ठहर गरेका हुन् । अब आज थुनछेक बहस हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए ।
बहस सकिएपछि लामिछानेलाई थुनामा पठाउने वा साधारण तारेख अथवा धरौटीमा रिहा गर्ने भन्ने आदेश अदालतबाट आउन सक्नेछ ।



