
जनकपूर । नकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आइतबारदेखि विधिवत सुरू भएको छ।
त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव गरेर मनाइन्छ।
सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ। दोस्रो दिन भोलि सोबार फूलबारी लीला, तेस्रो दिन मंगलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव, पाँचौ दिन मंसिर २० गते मटकोर र मंसिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ। महोत्सवको अन्तिम दिन मंसिर २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुने गर्दछ ।
नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्रांगणमा घुमाइने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले जानकारी दिएका छन् ।
त्रेता युगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने प्रचलन रही आएको छ ।




