कविता
ऐठन गर्ने मुर्कुटाहरु
इन्द्रकुमार श्रेष्ठ सरित्
पहिलो हैन, दोस्रो हैन, तेस्रोमात्र पनि हैन
रातका सबै प्रहरले ऐठन गर्छन्
उकुसमुकुसको मात्र एक पलले
जिन्दगी रित्याउन खोज्छ
मन कहालिन्छ तर आवाज घाँटीमै दबिन्छ
प्रतिकारमा म हातखुट्टा चलाउछु
ऐठन बनेर आउने एक हुल मुर्कुटालाई नियाल्छु
अनुहारमाथि अनुहार पोतेका मुर्कुटाहरु
कहीँ कतै देखेझैं लाग्छ,चिनेझै लाग्छ
सोध्छु मलाई ऐठन गर्नुको कारण
मुर्कुटाका हुलहरु अट्टाहास लगाउन थाल्छन्
म हतप्रभ उनीहरुलाई नियाल्छु
अहो ! मलाई लडाएर आफूमात्र जँघार तर्नेहरु
कहाँ मेरा साथीहरु रहेछन् र !
ती त समयमै मैले चिन्न नसकेको
मुर्कुटाहरुको हुल नै पो रहेछ
ऐठन, सपनी र भ्रमबाट म एकैपटक मुक्त हुन्छु ।