लघुकथा
पेशागत सम्मान
इन्दिरा चापागाईं
“ रात दिन नभनी, आफ्नो परिवारको परवाह नगरी विरामीको सेवा गरेको छु ।” डाक्टर विशेष रानाले गर्वसाथ भने ।
‘ पेशागत सम्मान ’ विषयमा सम्मेलन चलिरहेको थियो । विभिन्न पेशाकर्मीहरुको सहभागिता थियो । डाक्टर,प्राध्यापक, वकिल, जस्ता सहभागीहरुले आफ्नो पेशा व्यवसाय र त्यसले देशलाई पारेको सकारात्मक प्रभाव बारे आफ्नो विचार राखिसकेका थिए ।
“ श्रम हुनेले आफ्नो श्रम बेच्छ । सीप हुनेले सीप बेच्छ । जोसँग जे छ त्यही बेच्ने हो र त्यसमार्फत प्रत्यक्ष वा परोक्ष रुपमा देशलाई योगदान पुग्दछ । तसर्थ सबै पेशा उत्तिकै सम्मानित छन् ।” उद्घोषकले भने । सहभागीहरुले ताली बजाए ।
उद्घोषकले फेरि भने-“यसैक्रममा आफ्नो अमूल्य भनाइ राखिदिनु हुन श्री पवित्र गंगाज्यूलाई आमन्त्रण गर्दछु । ”
सबैको ध्यान आफुतिरै तान्दै एउटी सुन्दरी अगाडि आइन् र भन्न थालिन् – “मेरो विचारमा कुनै पनि काम सानो या ठूलो , राम्रो या नराम्रो भन्ने हुँदैन । मेरो त झन नाम अनुसारकै काम छ ।”
दर्शकहरु आँखा नझिम्क्याई उनीलाई हेरिरहे ।
“ म यस्तो पेशामा आवध्द छु कि, तपाइहरुले बाहिर सुन्दा तीतो ठान्नु हुन्छ तर भित्र कल्पना गर्दा पनि मीठो मान्नु हुन्छ ।”
‘ यस्तो काम चाहिँ के रहेछ र? ’ सबै सहभागीहरु मुखामुख गर्न थाले ।
उनले सानसँग भनिन् , “ म यौनकर्मी हुँ ।”