कथा
निमित्त
ध्रुबकृष्ण ताम्राकार
शायद बादल चलमलिएर आकाश छुन खोजिएको त होला ।स्वयम् आकृति स्थीर गर्दै पनि हावाका झोंकाले बद्नियतिका सिकार हुँदा उ हरेक कोणमा फिंजिएर आफ्नो अस्तित्व संकट बनाउन पुग्छन ।जहाँ उ उभिएर पनि आफ्नै छाँया टुक्र्याएरअर्कै बादलको डल्लामा समाहित हुनु पर्ने बिबशताका परिचायिक बन्न पुग्छन। सायद यहि जिन्दगीको नाम होला सुख र दुस्ख आरोह अनि अबरोह ! तैपनि बाँच्नुपर्ने जीवनसंग के को गुनासो पोख्ने बश,समयको धारासंगै बगिरहनुपर्ने अबिश्राम यात्राको बिकल्प पनि त छैन नि।
फुलिरहनुपर्ने स्वभाबै त फूलको थियो फेरी पनि परिबर्तिय ॠतुका कारण फुलेरपनि झर्नुपर्ने बिधाताको अगाडि उनको के नै लाग्छ र !
यस्तै शिशिरको जीवनमा पनि चलिरहेको थियो जीबनको आरोहअबरोह ! जिउनकोलागि परिस्थितिसंग उ अबिचलित झेलिरहन्छ्न ! आँसु त केवल पीडा थियो मात्र उ पिएर हाँसीहाँसी टार्छन समय साक्षी छ तैपनि समयसंगै अबिराम खेल्छ्पनि हारेर पनि जीतको मन्जिल खोजिरहन्छन।
‘दादा अहिलेसम्म सुत्नु भा को छैन?’एकाएक किशोरीको आवाजले शिशिर झस्किन्छन।
‘कति बज्यो र?’ समयको अनभिज्ञता प्रकट शिशिर ।
‘रातको बाह्र बजिसक्यो’ भन्दै किशोरी शिशिरलाई भित्ते घडीको सुई देखाउँछिन।
‘ल ल तँ कोठामा जा । म सुत्ने कोशिश गर्छु’ शिशिर बहिनीलाई आस्वस्त पार्दै भन्छ्न।
मायालु पाराले दादा शिशिरलाई हेर्दै किशोरी कोठामा जान्छिन।
निदाउन त कोसिस नगरेको त हैन शिशिरले तैपनी रातको अँध्यारोसंगसंगै शिशिरको मन बिरक्तिएर आज अलि छ्ट्पटिदै थियो। समयका यावत सिमाहरु नाघिसकेको पनि थियो शिशिरको जीबनमा। बहिनी किशोरी केवल दुई बर्षको हुँदा नै आमाले यो निष्ठुरी संसार छाडेर गइन ।त्यो बेला शिशिरको उमेर पनि सात बर्ष लाग्दै थियो बाबा बिचरो दीर्घरोगका शिकारी रोगसंग लडेर पनि नाबालिग शिशिर र किशोरीलाई हुर्काउन परिस्थितिसंग लड्छन तर बिडम्बना आमा बितेको चार बर्ष नबित्दै बुबाले पनि सदाको लागि यो सँसार छाड्छन् र उनीहरु टुहुरो हुन्छन। रात त थियो नै जीवन किन्तु एक्लो जून पनि झर्दा झन अँध्यारो मडारिन्छ।
किशोरी र शिशिरको आँखामा अबिरल कोशी बग्छन।एकाएक स्मृतिका पल बग्दै थिए शिशिरको आँखामा।उनको किशोर अबस्था आफ्नी बहिनी किशोरीको बाबाआमाको लाड्लोपनको ममताबिहिन क्षण देखेर आँखाहरु कैयौं पलपल त्यसै त्यसै रसिएर आईरहेको हुन्थ्यो। आखिर जिउने साहास बटुल्न शिशिर आफ्नो पढाई संगसंगै बहिनीलाई पनि स्कुलमा पढाउँछ र साथसाथै दिउँसो नारायण साहुजीको पसलमा काम गर्दै बिस्तारै जीवन चलाउँदै थियो। उनलाई आफू भन्दा किशोरीको चिन्ता थियो हुन पनि यो संसारमा किशोरीको शिशिर बाहेकअरु को नै छ र।
कुन बेला निदायो शिशिरलाई पट्टै पाइनन् बिंउँझिदा सूर्य आफ्नो लालीमा मुस्काइरहेको थियो।
संघर्षमा रमाउने शिशिर आज काम बिशेषले बाहिरिन हतारिंदै थियो । किशोरी अघि नै बिहानीको झिसमिसेमा क्याम्पस पुग्न निस्किसकेकी रहिछिन।
नारायण साहुजीको ब्यबसाय बिस्तारित हुँदै थियो हिसाब किताब मिलानको संपूर्ण जिम्मेवारी शिशिरको काँधमा थियो। समयको अन्तरालसंगै उ माथि बिस्वास निखारिंदै थियो। आज ब्यबसाय सम्बन्धी अर्कै अफिसमा कागजपत्र प्रस्तुत गर्न बिहानै साहुजीको पसलमा पुग्नुपर्ने हुंदा शिशिर ढिलो भैसकेको जस्तो लागेर हड्बडिंदै बाहिर निस्कीहाल्छन। बाटोमा साथीसंग भेट हुन्छ। उनीहरु दुबै बीच भलाकुसारी चल्छन।
‘अब त जिम्मेवारी आफ्नो पनि सोच्नु पर्यो साथी’साथी दिपकको कुरा सुनेर केवल शिशिर मुस्कुराउँछ्न।
‘तिमी दुःखमा हुर्कियौ ।संघर्षको आलोसंग कहिले नि चिसिएन्।अब घरबार बसाएर जिन्दगीलाई स्थायित्व दिनेतिर सोच्नु शिशिर!’दिपक हिंड्दै आफ्नो मन उकेलिरहन्छ।मानौं उ कुनै अभिभावकत्व निभाईरहेको जस्तो लागिरहेको थियो। उनको ईशारा शिशिरलाई बिहे गर्नु भनेको थियो।
‘बरु तिम्रो नजरमा कुनै केटी छ भने ठिकै छ नभए म हेरि दिन्छु।’
‘हैन हैन दिपक, अहिले त्यतातिर सोचेकै छैन’शिशिर अकमकिएर भन्छन।
‘त्यसो त किशोरीकोबारे सोचेपछि नै म आफ्नो बारे सोच्छु।’मेरो किशोरी बाहेक जिन्दगीमा अरु को नै छ र?’बोल्दा बोल्दै शिशिर भावबिह्रल हुन्छ् ।
तिम्रो कुरा पनि मनासिब भन्दै पछि फेरि भेटौंला भनेर दिपक शिशिरसंग छुट्दै अर्कै बाटो लाग्छन।
शिशिर घडी हेर्दै नारायण साहुजीको पसल पुग्न अझ पाईला तेज गर्छन।
नित्य समय आफ्नै बेगमा चलिरहन्छ ।अनि जीबनका काँचुली रंगहरुमा सधै झैं उदाउँछ सूर्य अनि अस्ताउँछ पनि। जीबनका परिसरमा हररात शिशिरले कोल्टे नफेरेको हैन् मनमा कुरा त खेल्छ्न नै तैपनि नदीको धारसंगै रेटिरहनुपर्ने किनार जस्तै रुझिरहन्छ चुपचाप आफ्नै सुरले किंतु कसैलाई बोध गराउँदैन थियो।
एक्कासी मोबाईलको घण्टीले एकसुरले बसिरहेका शिशिरको एकाग्रता भंग हुन पुग्छ।
‘हेल्लो’ शिशिर रिशिभ गर्छन् ।
‘तिमी आफै भननं हाम्रो मिलन असम्भव छ र ?’ उताबाट मधुरो आवाज गुजिंन्छ।
‘माया तिमीलाई कसरी सम्झाउँ ?मेरो के नै औकात छ र?तिमी जस्ती सुख सयलमा हुर्केकीलाई म बिना हैसियतको शुन्य मान्छेले तिमीसंगको सपना देख्नु के बेअर्थ हुंदैन र !म आफ्नै बेहाल संग संयमित हुँदै हिँडिरहेछु त तिम्रो कल्पना गर्दिन्न प्लिज तिमी मेरो बाटोमा नआउ।’
शिशिरको स्वरमा बिनय र विनम्र थियो। यति भन्दै मोबाइल राख्छन। शिशिर मायालाई मन नपरेको त हैन उनको स्तर नजर अन्दाज गर्नु पनि उ जायज ठान्दैनन् ।आखिर मामुली अबस्थाले सोच्न पनि सुहाउँदैन थियो। मायाले जिद्दी जाहेर गरिरहेकी हुन्थिन।कामको सिलसिलामा शिशिर नारायण साहुजीको हिसाब मिलाउन जानेक्रममा धनाढ्य दिनानाथका छोरी मायासंग जमघट भएको थियो ।एकै नजरमा शिशिरलाई उनले मनपराउन थाल्छिन। यो असमान्य परिस्थितिसंग शिशिर टाढिन खोज्छन तर बार बार माया उसंग नजिकिन खोज्छिन। कतै यो भनकले शिशिरको सामान्य अबस्था खल्बलिन्छ्न कि भन्ने डर थियो।
शिशिर जिन्दगीको मजाकबाट वच्न चाहान्थ्यो।उनको गन्तव्य कंचन निर्मल छहारीमा आफ्नी बहिनी किशोरीलाई पनि घरजम बसाल्न प्रयत्नरत थिए। त्यसपछिको सोचलाई उनी विमर्श गर्न चाहान्थे।त्यसैले त उ आफ्नै धुनले बग्दै थियो। हालतको शिकंजाबाट उ्म्रिरहेको निरीह जीवन सम्हालेर बिस्तारै जीउने साहसमा उन्मुख हुँदै थियो। पसिनाद्वारा सिचित मजदुरीले किशोरीको पढाईमा नित्य ध्यान हटाएको हुँदैन शिशिर।
‘आज त ढिलो आयौ नि ! किन क्याम्पसमा अबेलासम्म पढाइ चलिरहेको थियो र ?’भर्खरै आएकी किशोरीलाई हेर्दै शिशिर भन्दै थियो।
‘त्यसै भन्नू पर्यो दादा हिजो आज जाँचको लागि पढाइ अलि ढिलोसम्म नि चलिरहेको छ।’ किशोरी सफाया दिदै थिइन।तर किशोरीको अनुहार मलिन देखिएको थियो। किशोरीलाई थकाइ लागेर होला ,त्यसैले उनको अनुहार अँध्यारो देखिएको जस्तो शिशिरलाई लाग्दै थियोे । किशोरी चुपचाप कोठा पस्छिन।
दुईचार दिन भयो प्रायः किशोरी क्याम्पसबाट फर्किसकेपछि पनि एकोहोरींदै घोरिई रहेकी देख्दा शिशिरको मनमा अनेकौ प्रश्नको लर्को तान्दै थियो। चंचल स्वभाबकी किशोरी पहिले पहिले कहिलेपनि उनको मुखमा उदासपन छाएर देखिएकी थिइनन् । आमा र बुबाको प्यार उनले सधैं दाजुबाट नै पाईरहेकी थिइन। जिन्दगीको सवारमा शिशिर हर कदम किशोरीको खुसी र भबिश्य नै सोचिरहन्छन त्यसैले त हरेक समय उ आफुलाई खियाईरहन्छ ता कि कुनै किसिमको दु:ख र आँसुको छाँया किशोरीमा नपरोस् भन्ठान्छन् ।
बैशाखका याम थियो। बाहिर चर्को घाम सन्किरह्रेको थियो। त्यस माथी आज शनिबार भएर शिशिर कोठामै थिए।प्राईभेट पसल हुंदा सनिश्चवार बिदाको कर त थिएन तर ब्यस्तता सधै भैरहने हुँदा तनाव कम गर्न शिशिरले पनि दुईचार महिना भयो बिदा लिने गरेका थिए।
किन आज साथीसंगै घुम्न गएकी हैन फेरि किन चाँडै फर्केकी ?’ भर्खरै कोठाभित्र छिरेकी किशोरीलाई हेर्दै शिशिर भन्दै थिए।
शिशिरलाई पुलुक्क हेर्छिन तर किशोरी केही बोल्दिनन्।
‘ सन्चो छैन कि कसो?’ किशोरीको मलिन अनुहार हेर्दै शिशिर भन्छ्न।
‘घुम्न जानै मन भएनन् दादा त्यसैले चाँदै फर्केकि।’
‘ल आराम गर्नु है ।’अरु कुरा नकोट्याई शिशिर भन्छन् । किशोरी सरासर आफ्नो कोठामा जान्छिन।
कताकता शिशिर किशोरीलाई सम्झेर भावुक हुन्छन। यस्तै सानैमा किशोरी मात्सल्यबाट नै बिमुख भइन। भन्नू पर्दा आमाको दूध चुस्नै पाएकी थिइनन् । त्यस पछि बाबाको लाडप्यारमा हुर्कनै नपाउँदै नै बिल्कुलै टुहुरो भइन। अब आफू त किशोरीको एक मात्र अपनत्व बाँड्ने मनमुटु बनिरहेको शिशिर सम्झन्छन । किशोरीको जिन्दगीलाई बसन्तको पालुवाले सजाउने चाहना शिशिरमा प्रबल हुंदै थियो। आजसम्म उनले किशोरीलाई चित्त दुख्ने काम गरेको छैनन्। साँझ बिहान उनैलाई सम्झिरहन्छ। आफ्नो जीवन संवार्ने कल्पना गरेनन् । आफ्नो हैसियतभन्दा माथिकी मायाको जिद्दीपनको प्रेमलाई उनी बेवास्ता गर्छन्।फगत किशोरीको निमित्त दिलोज्यान उ संघर्ष गरिरहेका हुन्थ्यो।
त्यो दिन क्याम्पस गएकी किशोरी साँझ ढलिसक्दा पनि फर्केकी थिइनन् । शिशिर कामबाट फर्किदा साँझ ५ बजि सकेको थियो त्यतिबेला त किशोरी घरैमा हुन्थिन तर आज यतिबेला भै सक्दा पनि नफर्केकी देख्दा एकाएक शिशिर मनमा कुरा खेलाउँछन। मोबाईल पनि स्वीच अफ थियो। दुई चारजना मिल्ने किशोरीको साथीहरुसंग मोबाइलबाट् सोधपुछ गर्दा आज क्याम्पसमै देखिएनन् भन्छन पो।एकाएक शिशिरको मन हुरीको बेगले हल्लिएको डुङ्गा झै हल्लिन थाल्छ। पधेँरोमा पानी सुके झै ओठ पनि सुक्न थाल्छ। कतै किशोरीलाई स्वच्छन्दरुपले खुलाबाटोमा बटुवाको रुपमा छाडिएको परिणाम त होइनन् भनी सन्देह जन्माउँछ्न। तर शिशिरलाई किशोरी त्यति सारो अनुशासनहिन थिइनन् भन्ने यकिन थियो। उनको स्वभाबैमा दादाको संस्कारको उपज हुन्छ नै भन्ने बिश्वास उनमा थियो । किंतु हुर्केकी छोरी बेलैमा घर नपस्दा मन चिसो हुनु स्वभावै थियो।
यो भन्दा पहिले किशोरीले त्यस्तो कहिंलेनि औला ठड्याउने काम गरेकी थिइनन्। कहिँ कतै बाहिरिनु पर्दा दादासंग सोधेर नै जान्थिन।आज त्यस्तो के भयो उनीमाथि कतै आपद परिरहेकी त होइनन् ? भनी शिशिर आफैलाई प्रश्न गरिरहन्छन। किशोरीलाई आफ्नो खुट्टामा उभ्याइ सकेपछीबिहे गराई दिने सोचमा शिशिर थियो।त्यो रात उदाङो नै कट्छ शिशिरको आँखा।
………………………………..
जलिरहेको लास थियो सुनसान सडक घुम्ती बिच मोडमा ।बाटाको वरिपरि ठुला ठुला अजंगर उत्तिसका नाङो रुखले बाहेक त्यो लाशमाथि नजर कसैको परेकै थिएनन् । बिहानको हुस्सुले पिचहरु सेताम्य थियो। बाटोमा गुडिरहेका बस र कारहरु हेडलाईट बाल्दै हुँईकिन्छन।
बस अनि कारहरु सायद त्यो राजमार्गका खुला चौडाबाटा साथै जहाँ पैदल यात्रु बिल्कुलै शून्य भएर नै होला,यसरी हुँईकिदै थिए।
एकाएक लाशको अगाडी एउटा कार नजिकिदै टक्क रोकिन्छ ।सायद ड्राईभ गरिरहेका मान्छेको आँखा त्यहाँ परेको थियो होला। कारबाट ओर्लिएर लास नियाल्छन बाटामा डढेर छरिरेहेको सलका टुक्राले एउटी केटीको लास भनेर उनलाई ठम्याउन गार्हो भएनन् । पेट्रोलको गन्धले गर्दा केटीले आफू स्वयम् आत्म दाह गरेकी रै छ भन्ने घटनाक्रमको अन्दाज कारका त्यस ब्यक्तिले यकिन ठहर गर्छन। खल्तीबाट मोबाईल झिक्दै नजिकैको प्रहरीलाई घटना सुचित गर्छन। करिब पन्ध्र मिनेटमै प्रहरी भ्यान आईपुग्छन र प्रहरी जवान ओर्लि लास उठाएर क्षणभरमै पोष्टमार्टम र सनाखतको लागि हस्पिटल लान्छन्।
घटना जो अबगत साथै मिडियाबाजीले गर्दा समाचार तुरन्तै भाइरल हुन्छ्न। पहिचान खुल्न नसकेकोले अस्पताल परिसरमा लास राखिरहेको थियो। केही भीड चिन्ने प्रयासमा नियाल्छन र कठै के बिपद आईलागेछ जसले गर्दा त्यस्तो कठोर आत्मनिर्णय गर्न पुगिन भनेर काने खुसी गरिरहन्छन।
प्रहरी अनुसन्धानको डायरा मा थियो स्वयम् आत्मदह या कसैलेपेट्रोल छर्केर हत्या गरेको हो कि भन्ने द्वीबिधामा परिरहेको थिए। घटनास्थलको अलि पर भेट्टिएको कागजमा म आफै बिरक्तिएर आत्मदह गरेकी हुं भन्ने हस्तलिखित पत्रका कारण यो आत्मदाह नै थियो भन्ने निष्कर्षमा प्रहरी पुगिरहेको थियो ।तैपनि पोष्टमार्टमको रिजल्टको पर्खाईमा थियो। हेर्दाहेर्दै भीड मध्ये एउटी केटीको नजरले प्रहरीलाई पहिचान खुलाउन मद्द्त पुग्छ्।भोलिपल्ट हस्पिटल परिसरमा एक जना युबक त्यो लाश छोपिएको कपडा उघारी हेर्छ त एक्कासी ‘किशोरी मेरी किशोरी ‘भन्दै बेस्करी चिच्याउँछ । त्यो केटो अरु कोहि नभएर किशोरीको दाजु शिशिर थियो।
‘कहाँ मात्र खोजिन मैले तिमीलाई ! तर भेटें त आज तिम्रो लास अगाडि पाएँ किन आफैले आफैलाई जलाएकी हो तिमी ?’ भन्दै शिशिर बहुलाझै छ्ट्पटिंदै छाती पिट्दै किशोरीको चिसो लास अंगाल्दै रुन्छन्।
हालात किकर्तब्यबिमुख हुँदै शिशिरको बिलौना सुन्दै थियो। शिशिर माथि एउटा सिङो पहाड भासिएर थिच्चिरहेको भान भैरह्यो ।मानौ आकाशै खस्यो जहाँ अन्धकार जताततै छरपस्ट थियो । शिशिरलाई सबैको आँखाले सहानुभुतिले हेर्दै थियो।
……………………………………………………….
‘दादा म यहाँ छुं’ ढोकामा उभिएर नै किशोरी बोल्छे ।
‘धत लाटी कहाँ मात्र खोजिन तँलाई’शिशिर लामो श्वास फेर्दै भन्छन।
‘म जाँदै थिएँ दादा सायद कहिले नफर्किने सोचमा किंतु हजुरलाई छाड्न सकिन’एउटा संबेदन भावुक निशाद गुँजिरहेको थियो।
किन र मेरो मायामा तृप्त छैनौ र ? कहि खोट छ ? निसब्द थियो शिशिर ।आफ्नै बात्सल्य मायाले प्रश्न गर्दै थियो।
‘म प्रबिणलाई अति माया गर्थें हाम्रो मायाको बारे मैले हजुर सामु जिकिर गर्न सकिनं। ।कहिँ यो मायालाई दादाले अस्विकृत गर्नु भयो भने म सम्हाल्न गार्हो हुन्छ जस्तो लागेर म मौन थिएँ । तर उल्टो प्रबिणले दादाको हैसियतलाई तल्लो स्तरमा जोखेर मेरो मायालाई नै बदनाम तुल्य गरेको देखेरमैले सहन सकिनं।अन्तमा,म आफैलाई जलाएर यो निष्ठुरी दुनिँया छाडें। मलाई माफ गरिदेउ दादा!’
‘किशोरी’भन्दै बर्बराउँदै सपनाबाट शिशिर अनायासै बिउँझिन्छ्न।ढोकाको पर्दा हावाले हल्लिरहेको थियो बाहिर उज्यालोले भित्र जबरजस्ती हुल्न खोजे जस्तो लाग्थ्यो ,किन्तु त्यहाँ किशोरीको छाँयासम्म नि बिल्कुलै हराईसकेकी थिइन।
शिशिर बिस्मयी दुई आँखाले किशोरीको आकृति खोजिरहेका थिए।