काठमाडौं ।रमेश खनालको‘युद्धमा बिलाएको सपना’ लघुकथासङ्ग्रह उनको भर्खरै प्रकाशित भएको छ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा परिषद सदस्यको कार्यकाल बिताइसकेका उनले ‘अरूपण आर्ट ग्यालरी’ समेत स्थापना गरेका छन्। उक्त ग्यालरीमा हरेक शनिबार कला सिकाइको कक्षा पनि चलाउँदै छन्। त्यस्तै सो ग्यालरी एकल र सामूहिक कलाप्रदर्शनी समेत हुँदै आइरहेको छ।
‘अरूपण नेशनल रिसर्च सेन्टर, नेपाल’ बाट भर्खरै प्रकाशित ‘युद्धमा बिलाएको सपना’ लघुकथासङ्ग्रहमा खासगरी युद्धका विविध सन्दर्भ लघुकथाको रूपमा उनले अभिव्यक्ति दिएका छन्। उनले उल्लेख गरेअनुसार यस सङ्ग्रहका अधिकांश कथा इरान–इराक युद्धमा नेपालीहरूले भोगेका पीडाहरूलाई कथात्मक रूपमा प्रस्तुत गरिएको छ। उनले कुनैकुनै लघुकथामा व्यङ्ग्यहरू पनि झल्काउने कोशिश गरेका छन् र यी कथाहरू समकालीन सन्दर्भका यथार्थ चित्रण हुन्।
साहित्यसम्बन्धी उनका एकमुठी माटो, इन्दिराको भ्यागुता र स्टिना नामक तीन कथासङ्ग्रह प्रकाशित छन्। त्यसैगरी म घाममा पानीपानी हुन्छु, तेस्रो झर्को घाम लाग्यो, पानी पर्यो, उपेक्षित पक्षहरूसँग जीवनको एक सम्झौता नामक तीन कवितासङ्ग्रह प्रकाशित छन्। त्यस्तै उत्तरचेतनामूलक साहित्यिक अध्ययन शीर्षकको उनको समालोचना कृति पनि प्रकाशित छ।