शशी श्री आचार्य
भाग्य पनि खोटो रैछ
भाग्य पनि कस्तो खोटो
जीवन कहिले आहै भएन
मन फाटेको भएरै होला
मुटु फाटेको थाहै भएन
भाग्य पनि कस्तो खोटो
जे जति छन् आफू सँग
बढी पाउने चाहै भएन
एक्लै हिड्ने भएर होला
साथ छुट्ने बाटै रहेन
भाग्य पनि कस्तो खोटो
मन पोल्दा मुटुले सम्झाउँथ्यो
मलम लगाउने कोही नहुँदा
पीडा दुखेर बर्वराउँथ्यो
भाग्य पनि कस्तो खोटो
ढुङ्गाको भर माटो
अनि माटोको भर ढुङ्गा भन्थे
पहिरो आई माटो छुटायो
आफ्नो सारा भूगर्भ पहिरोमै लुट्यो
भाग्य पनि कस्तो खोटो !
चुँडिएको चङ्गा जस्तो
गन्तव्यको निश्चित भएन
उडुन्जेल साथ दियो
टुटे पछि धागो रहेन।
भाग्य पनि कस्तो खोटो!
साथ पनि कस्तो कस्तो
आफ्नो आत्माको भरै भएन
जिउँदो छउन्जेल सँगै रह्यो
मृत्यु आउँदा साथ गएन
भाग्य पनि कस्तो कस्तो!