
काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ ।
धेरै स्थानमा रुख र बिजुलीका पोल ढलेका छन् । सावधानीका लागि विद्युत् आपूर्ति बन्द गरिएको छ ।
चक्रवातको प्रभाव आगामी दुई दिनसम्म रहन सक्ने अधिकारीहरूले बताएका छन् । बीबीसीका अनुसार चक्रवात तटमा ठोक्किनुअघि भारी वर्षा भएको थियो । मौसम विभागका अनुसार यो यानमको दक्षिणमा बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रमा पुगेको थियो । त्यसबेला हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म रहेको जनाइएको छ ।
कोनासीमा जिल्लामा मात्रै करिब ६ हजार बिजुलीका पोल ढलेको अधिकारीहरूले बताएका छन् । प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ ।
आन्ध्र प्रदेशका ऊर्जा मन्त्री गोट्टिपति रवि कुमारले बीबीसी तेलुगुसँग चक्रवातको प्रभाव कम भएको २४ घण्टाभित्र सबै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापना गर्ने प्रयास भइरहेको बताएका छन् ।
चक्रवातका कारण रेल सेवा पनि प्रभावित भएको छ । दर्जनौँ रेल रद्द गरिएको बताइएको छ ।
आन्ध्र प्रदेशभर उडान सेवा प्रभावित भएको छ ।
भारतको पूर्वी तटलाई लक्षित गर्दै अगाडि बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’ का कारण अधिकारीहरूले विद्यालयहरू बन्द गरेका छन् र तटीय क्षेत्रमा रहेका हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।
राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार, तटीय क्षेत्रका करिब ३८ हजार मानिसलाई सुरक्षित राहत शिविरहरूमा सारिएको छ । आन्ध्र प्रदेश सरकारले करिब ४० लाख मानिस जोखिम क्षेत्रमा रहेको र चक्रवातबाट प्रत्यक्ष रूपमा प्रभावित हुने अनुमान गरेको छ । राज्य सञ्चार मन्त्री नारा लोकेशका अनुसार, एक हजार ९०६ राहत शिविर र ३६४ विद्यालय आश्रयका रूपमा तयारी गरिएको छ भने एक हजार २३८ कमजोर गाउँमा निकासी अभियान जारी छ ।
आन्ध्र प्रदेशका १९ जिल्लामा अत्यधिक वर्षाको चेतावनी दिँदै रेड अलर्ट जारी गरिएको छ भने छिमेकी तमिलनाडु, तेलङ्गाना, केरला र कर्नाटकमा पनि मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।




