
सुर्खेत । अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशसहित देशका विभिन्न क्षेत्रमा तीन दिनसम्म वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसम–जलवायु विज्ञान कार्यालय सुर्खेतका अनुसार कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म वर्षा तथा मौसममा प्रतिकूल प्रभाव पर्न सक्ने सम्भावना छ। विशेषगरी हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख र रुकुमपश्चिमका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरिएको छ।
सम्भावित वर्षाका कारण पहिरो, बाढी, लेदो तथा गेग्रान बहावजस्ता विपद्का घटना हुन सक्ने कार्यालयले जनाएको छ। हिमाली क्षेत्रमा हिमआँधी तथा हिमपहिरोको जोखिमसमेत हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र सम्भव भएसम्म यात्रा नगर्न आग्रह गरिएको छ।
वर्षाको सम्भावनालाई ध्यानमा राख्दै धानबाली भित्र्याउने तयारीमा रहेका किसानलाई पनि मौसमको पूर्वानुमान तथा अद्यावधिक सूचना लिएर मात्र कटाइ र भित्र्याउने काम गर्न अनुरोध गरिएको छ। काटिसकेको धानलाई वर्षाबाट जोगाउन सुरक्षित स्थानमा राख्नसमेत सुझाव दिइएको छ।
मौसमसम्बन्धी थप जानकारी तथा अद्यावधिक पूर्वानुमानका लागि जल तथा मौसम विज्ञान विभाग र मौसम–जलवायु विज्ञान कार्यालय सुर्खेतबाट सूचना लिन सकिनेछ।








