
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाली बलरको दबदबा रहेको छ । हालसम्म सम्पन्न तीनवटै खेलमा नेपाली बलर उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ दी म्याच समेत भएका छन् ।
उत्कृष्ट घोषित हुनेमा लुम्बिनी लायन्सका शेर मल्ल, चितवन राइनोजका कमलसिंह ऐरी र कर्णाली याक्सका युनिश विक्रम ठकुरी रहेका छन् । नेपाली बलरले स्थानीय ब्याटर मात्रै नभएर चर्चित विदेशी खेलाडीको समेत विकेट लिए ।
कात्तिक ९ गते भएको उद्घाटन खेलमा सुदूरपश्चिमविरुद्धको खेलमा लुम्बिनीका बलर शेर मल्लले ४ ओभर बलिङ गर्दै ११ रन खर्चेर ३ विकेट चट्काए । यो खेलमा उनी प्लेयर अफ दी म्याच बन्दै ५० हजार पुरस्कार समेत हात पारे । शेरले चर्चित विदेशी खेलाडी शेरफेन रदरफोर्ड, स्कट कुगेलेन र विनोद भण्डारीको विकेट लिएका हुन् । यो खेल लुम्बिनीले ७ विकेटले जित्यो । कात्तिक १० गते भएको पहिलो खेलमा विराटगर किङस र चितवन राइनोज भिडे । यो खेलमा चितवन ८ रनले विजयी भयो । चितवनलाई जिताउन कमलसिंह ऐरीले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २६ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए ।
आफ्नो टिमलाई जिताउन महत्वपूर्ण भूमिका निभाएका कमलले उत्कृष्ट चुनिदै ५० हजार पाए । कमलले आन्द्रे रसेल,एन्जेलो म्याथ्युज,रुपेश सिंह र बसिर अहमदको विकेट पाएका हुन् ।
कात्तिक १० गते नै भएको अर्को खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले स्तब्ध पार्दै कर्णालीले सुखद सुरुआत गर्यो । कर्णालीको जितमा बलर युनिशले उत्कृष्ट प्रदर्शन गरे । ४ ओभर बलिङ गरेका युनिशले २२ रन खर्चेर ३ विकेट झारे । खेलका प्लेयर अफ दी म्याच चुनिदैं उनले ५० हजार जिते । युनिशले हर्मित सिंह,जेमी निशम र आदित्य महताको विकेट लिए ।
टप फाइभमा पनि नेपाली बलर
हालसम्मको बलिङ कार्ड हेर्दा उत्कृष्ट पाँचमा नेपाली बलर नै अगाडी देखिन्छन् । एकजना मात्रै विदेशी खेलाडी टप फाइभमा छन् भने अन्य चार बलर नेपाली रहेका छन् । सबैभन्दा बढी विकेट लिनेमा नेपाली बलर किशोर महतो रहेका छन् । लुम्बिनीका किशोरले एक खेलमा २२ रन खर्चेर ४ विकेट लिदैं बलरहरुको पहिलो नम्बरमा छन् । यस्तै एक खेलबाटै २६ रन खर्चेर ४ विकट नै लिएका चितवनका कमलसिंह ऐरी दोस्रो नम्बरमा रहेका छन् । समान एक खेलबाट ३ विकेट लिएका लुम्बिनीका शेर मल्ल तेस्रो,३ विकेट नै लिएका जनकपुरका विदेशी खेलाडी हर्मित सिंह चौथो र कर्णाली युनिश विक्रम सिंह पाचौं स्थानमा अटाएका छन् । युनिशले पनि एक खेलबाट ३ विकेट हात पारेका थिए ।
ब्याटिङमा विदेशी अगाडी
ब्याटिङमा भने विदेशी खेलाडी शिर्ष स्थानमा देखिएका छन् । चितवन राइनोजका डेभिड मलानले एकै इनिङबाट ७० जोड्दै शिर्ष स्थानमा रहेका छन् । उनी जारी संस्करणमा पहलिो अर्धशतक हिर्काउने खेलाडी समेत हुन् ।
एक खेलबाटै ४३ रन बनाएका कर्णालीका अरिफुल स्लाम दोस्रो, लुम्बिनीका डार्सी सर्ट ४० रन बनाउर्दै तेस्रो स्थानमा रहेका छन् । चौथो र पाचौं स्थानमा भने नेपाली ब्याटर रहेका छन् । ३९ रन बनाएका विराटनगरका इमरान शेख चौथो र कर्णालीबाट ३७ रन बनाएका पवन शराफ पाचौं स्थान रहेका छन् ।
यसैबीच प्रतियोगिता उच्च स्कोर बनाउने टोलीमा चितवन छ भने कम स्कोर बनाउने टोली सुदूरपश्चिम रहेको छ ।चितवनले १५७ रन बनाएर उच्च स्कोर बनाउने टिममा पर्दा सुदूरपश्चिम ८७ रन बनाएर कम स्कोरको बनाउने टोली बनेको छ ।
प्रतियोगितामा लुम्बिनी २ अंकका साथ अंकतालिकाको शिर्ष स्थानमा रहदा सुदूरपश्चिम पुछारमा छ । आठ टोलीमध्ये काठमाडौं र पोखराको खेल हुन बाँकी छ । अन्य टिमले एक÷एक खेल खेलिसकेका छन् ।
आज एकमात्रै खेल हुने
जारी प्रतियोगिता अन्र्तगत आज एक खेल मात्रै हुने तालिका रहेको छ । साँझ ५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । यसअघिका दुई संस्करणमा सुदूरपश्चिमले पोखरालाई हराएको थियो ।
कप्तान कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरा यसपटक सुदूरपश्चिममाथि जित निकाल्ने लक्ष्यमा हुनेछ। । जारी संस्करणको पहिलो खेलमै हार व्यहोरेको सुदूरपश्चिम आज पुनरागमन गर्न चाहन्छ ।
सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको छ ।
लगातार दुई संस्करणको फाइनलमा पुगे पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक उपाधि लक्ष्यसहित मैदानमा छ । पोखरा भने यसअघि प्लेअफसम्म पुग्न नसकेको इतिहास बदल्न चाहन्छ ।
कात्तिक ९ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । फाइनल भिडन्त मङ्सिर ५ गते हुनेछ । च्याम्पियन बन्ने टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख,तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख पुरस्कार पाउनेछ ।यस्तै सान्त्वना स्थान हासिल गर्ने टोलीले ३० लाखमा चित्त बुझाउनुपर्नेछ ।पहिलो संस्करणको उपाधि जनकपुरले जित्दा दोस्रोमा लुम्बिनी च्याम्पियन बनेको थियो । यसअघिका दुबै संस्करणमा सुदूरपश्चिम फाइनलमा पराजित भएको थियो ।






