
काठमाडौँ । साउदी अरबले यमनका हुथी विद्रोहीसँग जारी तनाव अन्त्य गर्न एक बिलियन डलर आर्थिक सहयोग दिने प्रस्ताव गरेको खबर सार्वजनिक भएको छ ।
इजरायली सञ्चारमाध्यमका अनुसार साउदी अरबले आफ्नो भूमिमा आक्रमण रोक्ने सर्तमा हुथीलाई उक्त रकम दिन प्रस्ताव गरेको हो । यसका लागि इरानले मध्यस्थता गरिरहेको बताइएको छ ।
समाचारअनुसार साउदी अरबका रक्षामन्त्री राजकुमार खालिद बिन सलमान सोमबार वार्ताका लागि इरानको राजधानी तेहरान पुगेका थिए । उनी चढेको सैन्य विमानमा रकमसमेत ल्याइएको दाबी गरिएको छ । वार्तामा पाकिस्तानका सेना प्रमुख आसिम मुनीर, टर्कीको गुप्तचर निकायका प्रमुख इब्राहिम कालिन र इरानका राष्ट्रपति मसुद पेजेस्कियान पनि सहभागी भएको दाबी गरिएको छ ।
साउदी अरबले भने सैन्य दबाबमा परेर युद्धविराम सम्झौता नगर्ने अडान राखेको बताइएको छ । साउदी समर्थित यमनी सरकारबाट हुथीले कब्जा गरेका क्षेत्र फिर्ता गर्नुपर्ने उसको सर्त रहेको छ । हुथीका आक्रमणबाट साउदी अरबका विमानस्थल र तेल पूर्वाधारमा क्षति पुगेको तथा अर्थतन्त्रमा असर परेको समाचारमा उल्लेख छ । यता, होर्मुज जलडमरुमा इरानका आक्रमणका कारण खाडी मुलुकबाट हुने तेल निर्यातसमेत प्रभावित भएको बताइएको छ ।
तीन वर्षअघि भएको सहमतिअनुसार साउदी अरबले हुथीको नियन्त्रणमा रहेका क्षेत्रमा सरकारी कर्मचारीको तलब भुक्तानी र आधारभूत सेवा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने तथा हुथीले युद्धविराम कायम राखेर साउदी अरबमाथिका आक्रमण रोक्ने अपेक्षा गरिएको थियो । तर, पुरानो सहमति कार्यान्वयन नभएको आरोप हुथीले लगाउँदै आएका छन् ।
सन् २०१५ देखि जारी द्वन्द्वमा आधुनिक हतियार र अमेरिकी सहयोग पाएको साउदी अरबले पनि हुथीलाई पराजित गर्न सकेको छैन । सस्तो ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्ने हुथीका आक्रमण रोक्न महँगा प्रतिरक्षा क्षेप्यास्त्र प्रयोग गर्नुपर्ने भएकाले साउदी अरबको सैन्य खर्च बढ्ने गरेको विश्लेषण गरिएको छ ।

