
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका तथा प्रतिस्पर्धामा सहभागी नभएका योग्य नेताहरूलाई समेटेर अघि बढ्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय कार्यसमितिलाई प्रभावकारी बनाउन छुटेका नेताहरूको भूमिका पनि महत्त्वपूर्ण हुने बताएका हुन्।
उनले पार्टीको आन्तरिक निर्वाचनलाई जित र हारको अन्तिम मानकका रूपमा लिन नहुने बताए। आन्तरिक लोकतान्त्रिक अभ्यासमा प्रतिस्पर्धा स्वाभाविक भए पनि पार्टीको हितका लागि सबै योग्य र सक्षम नेताहरूलाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
थापाले केन्द्रीय कार्यसमितिमा रहेर काम गर्न योग्य र सक्षम धेरै नेताहरू यसपटक छुटेको स्वीकार गरे। कोही प्रतिस्पर्धामा सहभागी नभएको र कोही प्रतिस्पर्धाबाट निर्वाचित हुन नसकेको भन्दै उनले उनीहरूलाई पनि पार्टीको संगठनात्मक काममा सक्रिय रूपमा संलग्न गराउने बताए।
‘केन्द्रीय समितिलाई प्रभावकारी रूपमा अगाडि बढाउनु मेरो महत्त्वपूर्ण जिम्मेवारी हो। पार्टीको केन्द्रीय कार्यसमितिमा रहेर मसँग काम गर्न योग्य र सक्षम धेरै साथीहरू यसपटक छुट्नुभएको छ,’ उनले भने, ‘पार्टीको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धामा जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने भन्ने हुँदैन। पार्टीको हितका लागि सबै योग्य र सक्षम साथीहरूलाई समेटेर अघि बढ्नु आवश्यक छ।’ उनले भनेका छन् ।
सभापति थापाले पार्टीभित्रको एकता अहिलेको मुख्य आवश्यकता रहेको पनि उल्लेख गरे। आन्तरिक प्रतिस्पर्धाका कारण उत्पन्न हुन सक्ने विभाजनलाई अन्त्य गर्दै सबै पक्षको सहकार्यमा पार्टीलाई अघि बढाउनुपर्नेमा उनले जोड दिए।
‘छुट्नुभएका साथीहरूलाई पनि समेटेर सामूहिक नेतृत्व र सहकार्यका साथ पार्टीलाई अगाडि बढाउनेछु। यो प्रक्रिया सकेसम्म छिटो पूरा गर्नेछौं,’ उनले भने।


