
काठमाडौँ । मलेसियाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्र पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाललाई १० लाख अमेरिकी डलर (१५ करोड रुपैयाँभन्दा बढी) सहयोग गरेको छ ।
मलेसियाका विदेशमन्त्री हाजी मोहम्मद बिन हाजी हसनले नेपालको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
नेपालका लागि मलेसियाली नियोगकी कार्यवाहक प्रमुख मुदिता बज्राचार्यले आज विदेशमन्त्री हसनबाट चेक ग्रहण गरेकी हुन् । उक्त सहयोग १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपालले अघि बढाइरहेको पुनर्स्थापना तथा पुनर्निर्माण प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको हो ।
चेक हस्तान्तरण क्रममा मलेसियाका विदेशमन्त्री हसनले बाढीका कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवार तथा प्रभावित नेपालीप्रति समवेदना प्रकट गरे ।

