
सुजाता राई ।
विराटनगर । स्वर संगम संगीतालय, विराटनगरले कवि विवश पोखरेलको एकल कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
यही महिनादेखि सुरु गरेको मासिक बैठकी शृङ्खला -१ मा कवि पोखरेलले पहाड, समय, निस्तब्ध किनारामा, शब्द स्मृतिमा आमा, वसन्तले आत्महत्या गरेको दिन , सेतो घर, स्वास्नी, गुलाफ सन्चै छ रु ऊसँगको भेटमा, अहिले गाउँमा केही छैन , बुद्धको मृत्यु, छोरी, बुद्धिकान्तको घडी,बग्दै बग्दै जाने छोरासँग, शालिनी, एउटी नगरवधुको डायरी शीर्षकका विविध विषयका सत्रवटा कविताहरू वाचन गरेका हुन् ।
साहित्य र संगीतको समागम रहेको यो कार्यक्रममा वाचित कविताहरूमा संगीतालयका कलाकारहरूले मीठो संगीत दिएर कवितालाई अझ प्रभावशाली र जीवन्त बनाएका थिए।
तीसको दशकदेखि साहित्यक्षेत्रमा समर्पित र सक्रिय रहेका कवि, कथाकार पोखरेलका कथा कविता, बालसाहित्य, निबन्ध, मुक्तक विधाका नौ कृति प्रकाशित छ्न् भने उनले दर्जनौं कृतिको समेत सम्पादन गरेका छन् । उनी कवि , कथाकार मात्र नभएर एक कुशल साहित्यिक अभियन्ता समेत हुन् । पोखरेल विराटनगर प्रज्ञा प्रतिष्ठान , पूर्वान्चल साहित्य प्रतिष्ठानका अध्यक्ष समेत रहेका छन् ।

स्वर संगम संगीतालयका प्रमुख संगीतकार कुश्वेश्वर राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वाचित कविताहरूमाथि कवि मनु मन्जिलले समीक्षा गरेका थिए ।
आमन्त्रित अतिथिहरूलाई स्वागत संगीतालयका सचिव महिमा शर्माले र कार्यक्रमको सन्चालन कवि शुभलक्ष्मी लम्सालले गरेकी थिइन् ।
यही महिनादेखि स्वर संगम संगीतालयले मासिक बैठकी शृङ्खला प्रारम्भ गरेको हो ।
